ओसाका । जापानको ओसाका प्रहरीले होटलको कोठामा एक महिलाको शव फेला परेपछि २९ वर्षीय पुरुषलाई डकैती र हत्याको आशंकामा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मिए प्रिफेक्चरको योक्काइची शहरका आंशिक कामदार युया मोरीले आरोपलाई अस्वीकार गरेका छन् । क्योटो न्युजका अनुसार उनले आफूले मार्ने उद्देश्यले उनको घाँटी नथिचेको र कुनै पैसा वा बहुमूल्य सामान नचोरेको बताएका छन् ।
पक्राउ पूर्जीमा शुक्रबार राति मोरीले २० वर्ष लागेकी एक महिलाको हत्या गरेको र उनको ‘माई नम्बर’ कार्ड र अन्य सामानहरू चोरेको आरोप लगाइएको छ ।
यो घटना एक पुरुषले प्रहरी चौकीमा गएर चुओ वार्डको नम्बास्थित एउटा होटलमा महिलाको हत्या भएको हुन सक्ने जानकारी गराएपछि सार्वजनिक भएको हो । उनले एक महिलाको उनकै चिनजानका पुरुषले हत्या गरेको हुनसक्ने बताएका थिए ।
प्रहरी होटलमा पुग्दा उनीहरूले छैटौं तलाको एउटा कोठाको ओछ्यानमा पूरा कपडा लगाएको अवस्थामा एक युवती लडिरहेको फेला पारेका थिए । प्रहरीले महिलाको घाँटीमा रङ बदलिएको देखिएको र मृत्युको सही कारण पत्ता लगाउन शव परीक्षण गरिने बताएको छ ।
सम्बन्धित व्यक्तिहरूको बयान र होटल वरपरको सीसी क्यामेरा फुटेजका आधारमा प्रहरीले मोरीको खोजी सुरु गरेको थियो । उनी क्योटो शहरको एउटा होटलमा एक्लै फेला परेका थिए ।
महिलाको हत्या भएको होटल ओसाका मेट्रो नम्बा स्टेशन नजिकैको व्यस्त ‘मिनामी’ जिल्लामा रहेको छ । जहाँ व्यावसायिक भवन र रेस्टुरेन्टहरू धेरै छन् ।


