
भवानी भट्ट
टोकियो । जापानमा रहेका नेपाली तथा अन्य विदेशी समुदायलाई लक्षित गर्दै नयाँ रेमिट्यान्स सेवा “येहे रेमिट” को औपचारिक उद्घाटन गरिएको छ।
टोकियोको आकिहाबारास्थित इन्टर एक्ट बिल्डिङमा शनिबार आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरिएको हो।
आधुनिक डिजिटल प्रविधिमार्फत छिटो, सुरक्षित तथा सहज रूपमा रकम पठाउने उद्देश्यसहित सञ्चालनमा आएको येहे रेमिटले जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सेवा सुरु गरेको जनाएको छ।
कार्यालयको उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ आईसीसीका उपमहासचिव पारसमणि पोखरेल, सचिव शिव प्रसाद पौडेल, एसिया प्यासिफिक संयोजक दिपक कंडेल, एनसीसी जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायत विभिन्न नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा रिबन काट्ने कार्यक्रम, सेवासम्बन्धी प्रस्तुति, अन्तरक्रिया तथा विशेष सुविधाबारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै येहे रेमिटका कार्यकारी निर्देशक नबिन निउरेले विदेशमा रहेका आप्रवासीहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको बताए।

उनले जापानमा रहेका नेपालीहरूले परिवारलाई रकम पठाउँदा भोग्दै आएका ढिलो प्रक्रिया, झन्झटपूर्ण प्रणाली तथा उच्च शुल्कजस्ता समस्यालाई समाधान गर्ने उद्देश्यसहित सेवा सुरु गरिएको उल्लेख गरे। “विदेशमा बस्ने नेपालीहरूका लागि रेमिट्यान्स केवल पैसा पठाउने माध्यम मात्र नभई परिवारको आवश्यकता, जिम्मेवारी र भावनासँग जोडिएको विषय पनि हो,” उनले भने।
उनका अनुसार येहे रेमिटले आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, भरपर्दो तथा प्रयोगमैत्री सेवा उपलब्ध गराउनेछ। जापानबाट नेपाल सहज रूपमा रकम पठाउन सकिने तथा इसेवासँगको सहकार्यमा नेपालमा रकम प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
हाल जापानमा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा बसोबास गर्ने नेपालीहरूको संख्या बढ्दै जाँदा भरपर्दो रेमिट्यान्स सेवाको आवश्यकता पनि बढेको समुदायका अगुवाहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले येहे रेमिटलाई समयसापेक्ष तथा समुदायको आवश्यकताअनुसार सुरु गरिएको उपयोगी सेवाका रूपमा टिप्पणी गरेका थिए।
कम्पनीका अनुसार भविष्यमा सेवा विस्तार गर्दै रेमिट्यान्स क्षेत्रलाई अझ प्रभावकारी, सुरक्षित तथा समुदायमैत्री बनाउने योजना रहेको छ।

