जापानले मेको अन्त्यमा व्यापारिक प्रतिनिधिमण्डल रूस पठाउने

|

टोकियो । जापानले आफ्नो एक व्यापारिक प्रतिनिधिमण्डल यही महिनाको अन्त्यमा एउटा व्यापारिक प्रतिनिधिमण्डल रुस पठाउने भएको छ ।

यसले रुसले २०२२ मा युक्रेनमाथि हमला गरेपछि बिग्रिएको सम्बन्ध सुधारको दिशामा रहेको देखिाउँछ ।

युद्ध समाप्त भएपछि विस्तारित व्यापारिक गतिविधिका लागि आधार खडा गर्ने उद्देश्यले जापानले यही महिनाको अन्त्यमा रूसमा एक आर्थिक प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको जापानी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले ट्रेडिङ हाउस ‘मित्सुई एण्ड कम्पनी’ र ढुवानी कम्पनी ‘मित्सुई ओ.एस.के. लाइन्स लिमिटेड’ लगायतका प्रमुख जापानी कम्पनीहरूको उच्च–स्तरीय प्रतिनिधिहरूका लागि मे २६ देखि दुई दिने भ्रमणको प्रस्ताव गरेको छ ।

जसमा अर्को ट्रेडिङ हाउस ‘मित्सुबिसी कर्पोरेशन’ पनि सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिनिधिमण्डलले रूसको उद्योग र व्यापार मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेट्ने अपेक्षा गरिएको छ ।

युक्रेनमाथि जारी रुसी हमलाबीच हुन लागेको यो भ्रमणबारे जापानी कम्पनीहरुले भने खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि टोकियो र मस्कोबीच पुनः सम्बन्ध गाँस्ने संकेतहरू देखिन थालेका छन् ।

यसै महिनाको सुरुमा फेब्रुअरीको अन्त्यमा सुरु भएको इरानविरुद्धको अमेरिका–इजरायली युद्धपछि होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएयता जापानले पहिलो पटक रूसबाट कच्चा तेल आयात गरेको थियो ।

यस आयातले मध्यपूर्वी ऊर्जा आपूर्तिमा हुने अवरोधप्रति जापानको संवेदनशीलतालाई उजागर गरेको छ । किनकि जापान होर्मुज हुँदै आयात हुने तेलमा अत्यधिक निर्भर छ ।

अप्रिलको सुरुमा मुख्य क्याबिनेट सचिव मिनोरु किहारा र परराष्ट्र मन्त्री तोसिमित्सु मोटेगी दुवैले जापानले रूसमा व्यापारिक प्रतिनिधिमण्डल पठाउने योजना बनाइरहेको भन्ने मिडिया रिपोर्टहरूलाई खारेज गरेका थिए ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहयोग योजना प्रस्ताव गरेका थिए । पछि ऊर्जा विकास र कृषिजस्ता क्षेत्रहरूमा ठोस परियोजनाहरूमा छलफल अगाडि बढेको थियो । तर यी छलफलहरु युक्रेन युद्धका कारण रोकिएका थिए ।

ताकाइचीका राजनीतिक गुरु मानिने आबेले द्विपक्षीय क्षेत्रीय विवाद सुल्झाउने प्रयासमा पुटिनसँग संवाद जारी राखेका थिए र सन् २०२० सम्मको आफ्नो कार्यकालमा उनलाई २७ पटक भेटेका थिए । तर कुनै ठोस सफलता हात परेको थिएन ।

टोयोटा मोटर कर्पोरेशन र निसान मोटर कम्पनी लगायतका जापानी फर्महरूले रूसमा आफ्नो सञ्चालन बन्द गरेका छन् वा घटाएका छन् ।

यसै सम्बन्धमा रूससँग लामो समयदेखि सम्बन्ध रहेका जापानी सांसद मुनेओ सुजुकीले यसै महिनाको सुरुमा मस्को भ्रमण गरी उपपरराष्ट्र मन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेका थिए ।

सुजुकीका अनुसार रुदेन्कोले टोकियोले चाहेमा रूस जापानसँग विदेश मन्त्री स्तरीय वार्ता गर्न तयार रहेको जनाएका छन् ।