जापानमा “बिजनेस म्यानेजर” भिसा आवेदन ९६ प्रतिशतले घट्यो

|

जापान सरकारले “बिजनेस म्यानेजर” भिसामा कडा मापदण्ड लागू गरेपछि विदेशी उद्यमीहरूको आवेदन संख्या अत्यधिक घटेको छ। जापानको न्याय मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ अक्टोबरदेखि लागू गरिएको नयाँ नियमपछि मासिक आवेदन औसत १ हजार ७ सयबाट घटेर करिब ७० मा पुगेको छ।

सरकारले भिसा प्रणालीको दुरुपयोग रोक्ने उद्देश्यले व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड कडा बनाएको हो। नयाँ नियमअनुसार अब “बिजनेस म्यानेजर” भिसाका लागि न्यूनतम लगानी रकम ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याइएको छ। साथै पूर्णकालीन कर्मचारी राख्नुपर्ने प्रावधान पनि अनिवार्य गरिएको छ।

जापानी अधिकारीहरूका अनुसार केही विदेशी नागरिकहरूले वास्तविक व्यवसाय सञ्चालन नगरी “पेपर कम्पनी” स्थापना गरेर बसोबास अनुमति लिने गरेको पाइएपछि यस्तो कदम चालिएको हो।

नयाँ नियम लागू भएपछि हाल भिसा स्वीकृत हुने आवेदकमध्ये अधिकांश ठूला सूचीबद्ध कम्पनीका उच्च तहका अधिकारी रहेको बताइएको छ। साना तथा मध्यम स्तरका विदेशी उद्यमीहरू भने नयाँ मापदण्डका कारण प्रभावित भएका छन्।

जापानमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका विदेशी व्यवसायीहरूले सरकारले अपनाएको अत्यधिक कडाइले वैध व्यवसायसमेत संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। कतिपयले भविष्यमा जापान छोड्नुपर्ने अवस्था आउन सक्ने प्रतिक्रिया दिएका छन्।

विशेषज्ञहरूले अवैध आप्रवासन तथा नक्कली व्यवसाय नियन्त्रण गर्ने उद्देश्य उचित भए पनि अत्यधिक कडा नीति लागू गर्दा वैध विदेशी लगानी र साना उद्यमलाई निरुत्साहित गर्ने जोखिम बढ्ने बताएका छन्।