
टोकियो । जापानको आत्मरक्षा बल (एसडीएफ) ले दक्षिण चीन सागरतर्फ एन्टिशिप क्षेप्यास्त्र प्रहार गरेको छ ।
अमेरिका, अष्ट्रेलिया र फिलिपिन्सका सैनिकसँगको संयुक्त समुद्री अभ्यासका क्रममा ‘टाइप ८८’ एन्टी–शिप क्षेप्यास्त्र प्रहार गरेको हो ।
उक्त क्षेप्यास्त्रले दक्षिण चीन सागरतर्फको जलक्षेत्रमा फिलिपिन्सको नौसेनाको एउटा काम नलाग्ने जहाजलाई प्रहार गरेको थियो ।
मनिला र टोकियोबीच सम्भावित रक्षा उपकरण हस्तान्तरणका बारेमा वार्ता सुरु भइरहेका बेला यो अभ्यास भएको हो । जापानले सैन्य निर्यातमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि यो हस्तान्तरण सम्भव भएको हो ।
छलफलमा अबुकुमा क्लासका डिस्ट्रोयर र टिसी–९० विमानहरू फिलिपिन्सको सशस्त्र बललाई चाँडै हस्तान्तरण गर्न सकिने सम्भावनाबारे कुराकानी भएको जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बताए ।
फिलिपिन्सका रक्षा सचिव गिल्बर्टो टियोडोरो र कोइजुमीले स्थलगत रूपमै प्रत्यक्ष क्षेप्यास्त्र प्रहारको अवलोकन गरेका थिए भने फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मनिलास्थित सैन्य मुख्यालयबाट लाइभ भिडियो फिडमार्फत उक्त अभ्यास हेरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘यस अभ्यासले सहयोगी सेनाहरूबीच समन्वयित समुद्री स्ट्राइक अपरेशन प्रदर्शन गरेको छ र क्षेत्रीय सुरक्षा तथा नेभिगेसनको स्वतन्त्रता प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने फिलिपिन्सको सशस्त्र बलको बढ्दो क्षमतालाई उजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
फिलिपिन्सको सेनाले ‘टाइप ८८’ बाट दुईवटा गोला प्रहार गरिएको र प्रक्षेपणको छ मिनेटभित्रै बीआरपी क्वेजोन जहाजमा प्रहार भएको बताएको छ । यो प्रहार उत्तरी फिलिपिन्सको पाओयको तटबाट करिब ७५ किलोमिटर टाढा भएको थियो । जुन दक्षिण चीन सागरतर्फ पर्दछ ।
फिलिपिन्सको राष्ट्रिय रक्षा मन्त्रालयले जापानको टाइप–८८ क्षेप्यास्त्र प्रणाली तटीय क्षेत्रहरूको रक्षा गर्न र समुद्री खतराहरूलाई रोक्न डिजाइन गरिएको बताएको छ ।
‘हामीले पहिलोपटक यो कार्य सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा म धेरै गर्व र खुसी महसुस गरिरहेको छु र अब साझेदारहरूको संख्या बढेसँगै यसको दायरा अझ फराकिलो हुनेछ,’ टियोडोरोले भने ।
यो प्रत्यक्ष फायर ड्रिल मनिला र वासिङ्टनले वार्षिक रूपमा गर्ने सैन्य अभ्यासको हिस्सा हो ।
जापान, क्यानडा, फ्रान्स र न्युजिल्याण्डसँगै पहिलोपटक सक्रिय सहभागीका रूपमा यस्तो सैन्य अभ्यासमा सामेल भएको छ । जसले मनिलाको सुरक्षा साझेदारीको बढ्दो सञ्जाललाई झल्काउँछ ।
मे २ मा फिलिपिन्स र अमेरिकी सेनाले ताइवान नजिकैको बातानेस प्रान्तमा एन्टी–शिप क्षेप्यास्त्र एनमेसिस पनि तैनाथ गरेका थिए । ताइवानलाई चीनले आफ्नै क्षेत्र मान्ने गरेको छ र यसलाई लिएर तनाव जारी छ ।
यस वर्षको अभ्यासमा १७ हजार भन्दा बढी सैनिकहरू सहभागी छन् । जसमा रक्षा सन्धि सहयोगी जापानका करिब १४ सय र अमेरिकाका १० हजार सैनिकहरू समावेश छन् ।
बेइजिङले मनिलाको आफ्ना सहयोगीहरूसँगको संयुक्त सैन्य अभ्यासको नियमित रूपमा आलोचना गर्दै आएको छ र यसले क्षेत्रीय तनाव बढाउने देखिएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले जापानको सैन्य गतिविधिको आलोचना गर्दै टोकियोले सुरक्षा सहयोगको बहानामा आक्रामक क्षेप्यास्त्रहरू प्रक्षेपण गर्न विदेशमा सेना पठाएको आरोप लगाएका छन् ।

