
टोकियो । जापानबाट विदेशमा रकम पठाउने सेवा प्रदान गर्ने ‘येहे रेमिट’ (Yehey Remit) ले टोकियोको आकिहाबारामा आफ्नो सेवा सुरु गर्ने भएको छ।
कम्पनीले ९ मे, २०२६ मा औपचारिक उद्घाटन कार्यक्रम आयोजना गर्ने जनाएको छ। चियोदा–कु, कान्दा–साकुमाचोस्थित इन्टर ACT भवनको तेस्रो तलामा हुने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ।
उद्घाटनका अवसरमा रिबन कटिङ, जानकारीमूलक प्रस्तुति तथा विशेष अफरहरू सार्वजनिक गरिने बताइएको छ।
कम्पनीका अनुसार ‘येहे रेमिट’ ले छिटो, सहज र भरपर्दो रूपमा रेमिटेन्स सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
जापानमा बढ्दो विदेशी समुदाय, विशेषगरी नेपाल र फिलिपिन्सका सेवाग्राहीलाई लक्षित गर्दै सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
रेमिटेन्स क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला ‘येहे रेमिट’ को प्रवेशलाई नयाँ विकल्पका रूपमा हेरिएको छ।
कम्पनीले डिजिटल माध्यममार्फत सेवा सहज बनाउँदै प्रयोगकर्तालाई सरल प्रक्रिया र प्रतिस्पर्धात्मक दर उपलब्ध गराउने जनाएको छ।
‘येहे रेमिट’ का प्रमुख कार्यकारीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष तथा हालै निर्वाचित आईसीसी युवा संयोजक नविन निउरे रहेका छन्। प्रमुख कार्यकारी निउरेले येहे रेमिटबाट पठाएको रकम इसेवा मार्फत पाउन सकिने जानकारी दिए ।
उद्घाटन कार्यक्रममा सहभागी हुन कम्पनीले संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा व्यक्तिहरु तथा जापानमा क्रियाशील पत्रकारहरूलाई आमन्त्रण गरेको छ।


