लगातार ४५औं वर्ष जापानमा बालबालिकाको जनसंख्या घट्यो

|

टोकियो । जापानमा बालबालिकाको जनसंख्यामा रेकर्ड स्तरमा कमी आएर अप्रिल १ सम्ममा अनुमानित १३.२९ मिलियन अर्थात १ करोड ३२ लाख ९० हजार मा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३ लाख ५० हजारले कम भएको सरकारी तथ्यांकले देखाएको छ ।

मंगलबार राष्ट्रिय ‘बाल दिवस’ को पूर्वसन्ध्यामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्यामा १५ वर्ष मुनिका बालबालिकाको अनुपात ०.३ प्रतिशतले घटेर १०.८ प्रतिशतमा झरेको छ । यो सन् १९५० मा तुलनात्मक तथ्यांक उपलब्ध भएयताकै न्यून हो ।

विदेशी बासिन्दाहरू समेत समावेश गरिएको यो तथ्यांक हरेक पाँच वर्षमा गरिने राष्ट्रिय जनगणनामा आधारित जनसंख्या अनुमानको प्रयोग गरी गणना गरिएको हो ।

जापानी सरकारले घट्दो जन्मदरलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएको छ र सन् २०३० सम्मको अवधिलाई यो प्रवृत्तिलाई उल्टाउने अन्तिम अवसरका रूपमा तोकेको छ ।

यद्यपि, सन्तान हुर्काउने परिवारहरूका लागि वित्तीय सहयोग विस्तार गर्नेजस्ता कदमहरू चाल्दाचाल्दै पनि विगत ४५ वर्षदेखि गिरावट जारी छ ।

तथ्यांकअनुसार लिङ्गका आधारमा ६.८१ मिलियन छोरा र ६.४८ मिलियन छोरीहरू रहेका छन् ।

उमेरका आधारमा १२ देखि १४ वर्षका बालबालिका ३.०९ मिलियन रहेका छन् भने ० देखि २ वर्षका बालबालिका २.१३ मिलियन मात्र छन् । जसले थोरै बालबालिका जन्मिने क्रम जारी रहेको संकेत गर्दछ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार सन् २०२५ मा जापानमा जन्मिएका बालबालिकाको संख्या (विदेशीहरू सहित) ७ लाख ५ हजार ८०९ मा झरेर कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । जुन लगातार १० औं वर्षको गिरावट हो ।

सन् १९५४ मा २९.८९ मिलियनको उच्च विन्दुमा पुगेपछि जापानमा बालबालिकाको जनसंख्या सन् १९८२ देखि लगातार घटिरहेको छ । यद्यपि १९७१ र १९७४ को बीचमा दोस्रो ‘बेबी बुम’ देखिएको थियो ।

बालबालिकाको अनुपात पनि सन् १९७५ देखि लगातार ५२ औं वर्ष घटेको छ ।

विभिन्न समयमा गरिएको संयुक्त राष्ट्र संघको सर्वेक्षण अनुसार ४० मिलियन भन्दा बढी जनसंख्या भएका ३८ राष्ट्रहरूमध्ये जापानमा बालबालिकाको अनुपात दोस्रो सबैभन्दा कम छ । दक्षिण कोरिया १०.२ प्रतिशतका साथ सबैभन्दा न्यून स्थानमा रहेको छ ।