
जकार्ता । इन्डोनेसिया र जापानले रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रक्षा उद्योग, मानव विकास र विपद् न्यूनीकरणका उपायहरूमा दुवै देशले एक अर्कालाई सहयोग गर्नेछन् ।
इन्डोनेसियाका रक्षा मन्त्री स्याफ्री सामसुद्दिनले जकार्तामा आफ्ना जापानी समकक्षी सिन्जिरो कोइजुमीसँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘हामी दुवैले आ–आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै रक्षा उद्योग र हाम्रा जनशक्तिको विकासमा ठोस सहयोगलाई अगाडि बढाउन सहमत भएका छौं,’ इन्डोनेसियाको रक्षा मन्त्रालयमा हस्ताक्षरअघि मन्त्री स्याफ्रीले भने ।
कोइजुमीले यस सम्झौतालाई दुई देशबीचको रक्षा सहयोगलाई मार्गदर्शन गर्ने एउटा कम्पास र महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरेका छन् ।
जापानले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउन खोजिरहेको बेला गत महिना हतियार बिक्रीमाथिको प्रतिबन्ध हटाएको थियो ।
मन्त्रीहरूले द्विपक्षीय बैठकमा समुद्री सुरक्षा, संयुक्त सैन्य अभ्यास र सैन्य हार्डवेयर तथा रक्षा प्रविधिमा सहकार्यबारे छलफल गरेको कोइजुमीले बताए ।
‘इरानमा जस्तै बढ्दो जटिल र तनावपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बीच जापान र इन्डोनेसियाबीचको रक्षा सहयोगलाई गहिरो बनाउनुले दुवै देशका लागि मात्र नभई यस क्षेत्रको शान्ति र स्थिरतामा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ,’ कोइजुमीले भने ।

