
टोकियो। पछिल्लो ६ महिनामा चीन जाने जापानी पर्यटको संख्यामा भारी गिरावट देखिएको छ ।
पर्यटन उद्योगको क्षेत्रमा काम गर्ने अधिकारीहरुका अनुसार प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा गरेको टिप्पणीपछि चीनले कडा नीति लिएसँगै चीन जाने जापानी पर्यटकको संख्यामा उच्च गिरावट देखिएको हो ।
प्रधानमन्त्री ताकाइचीले गत ७ नोभेम्बरमा चीनले ताइवानमाथि हमला गरेमा जापानी सेना ताइवानको सहयोगका लागि तयार रहेको बताएपछि चीनले त्यसको जवाफमा कडा प्रतिक्रिया दिएको थियो ।
ताकाइचीको सोही भनाईले दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै चीन जाने जापानी यात्रीहरूको संख्यामा ठूलो गिरावट आएको छ ।
जापान जाने चिनियाँ यात्रीहरूको संख्यामा पनि ठूलो गिरावट आएपछि पर्यटन क्षेत्रमा ठूलो प्रभाव देखिएको छ ।
‘बुकिङ रद्दमा तीव्र वृद्धि र उडान कटौतीको परिणामस्वरूप जापानी यात्रा ९० प्रतिशतले घट्यो,’ एक ट्राभल एजेन्सी अधिकारीले भने ।
पश्चिम एसियाको द्वन्द्वपछि एयरलाइन्सद्वारा इन्धनमा भएको मूल्यवृद्धि, उडान कटौतीका कारण सिटको अभाव र चीन यात्रामा चासोको कमीसँगै उद्योगका लागि अहिले तेहरो मार परेको छ ।
जापानी यात्रीहरूलाई चीनमा व्यवस्थापन गर्दै आएको सांघाईको एक ट्राभल एजेन्सीका अर्का अधिकारीका अनुसार नोभेम्बरदेखि शहरमा हुने जापानी नागरिकका सामूहिक भ्रमणहरू आधा रद्द भएका छन् । यसमा सुरक्षा चिन्ता प्रमुख रहेको छ ।
केही मामिलाहरूमा अचानक उडान रद्द भएका कारण भ्रमणहरू रोकिएका थिए ।
जापानी प्रधानमन्त्रीको अभिव्यक्तिपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न सल्लाह दिँदै व्यापार प्रतिबन्ध लगाएको थियो । सोही कारण चिनियाँ एयरलाइन्सले जापानका लागि उडान रद्द गरेका थिए ।
जापानी भाषा बोल्ने टुर गाइडहरूले साङ्सी प्रान्त जस्ता पर्यटकीय गन्तव्यहरूमा कम आम्दानी र बेरोजगारीको जोखिम सामना गरिरहेका छन् । कतिपय ट्राभल एजेन्सीले चीन आउने जापानी पर्यटकको संख्यामा ९० प्रतिशतसम्म गिरावट आएको बताएका छन् ।
जापानी पर्यटकहरु कुनै समय चीन जाने यात्रीहरूको सबैभन्दा ठूलो समूहमा पर्दथे । तर प्रमुख जापानी ट्राभल एजेन्सीका अधिकारीले दुई देशबीचको सम्बन्धमा सुधार नभएसम्म र थप उडानहरू उपलब्ध नभएसम्म पर्यटन क्षेत्रमा प्रभाव जारी रहने बताएका छन् ।

