
टोकियो । जापानको होक्काइडोस्थित आसाहिकावाका एक नगरपालिका कर्मचारी पक्राउ परेका छन् ।
चर्चित आसाहियामा चिडियाखानाको ‘एनिमल क्रिमेटोरियम’ (जनावर जलाउने शवदाह गृह) भित्र उनकै श्रीमतीको शवका अवशेषहरू फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
३३ वर्षीय तात्सुया सुजुकीलाई आफ्नी ३३ वर्षीया श्रीमती युईको शव चिडियाखानामा लगेर गत ३१ मार्च आसपासमा इन्सिनेरेटर (जलाउने मेसिन) भित्र जलाएको आशंका गरिएको छ । प्रहरीका अनुसार उनले उक्त आरोप स्वीकार गरेका छन् ।
सुजुकीले नै श्रीमतीको हत्या गरेका हुन् वा होइनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नगर सरकारको एक स्रोतका अनुसार उनी नगरपालिकाद्वारा सञ्चालित उक्त चिडियाखानामा जनावर हेरचाह गर्ने कर्मचारी हुन् ।
प्रहरीका अनुसार मार्चको अन्त्यतिरदेखि युईसँग सम्पर्क हुन नसकेको भन्दै उनका आफन्तले अप्रिल २३ मा प्रहरीलाई खबर गरेका थिए । सुजुकीसँगको सोधपुछका क्रममा उनले दिएको बयानका आधारमा प्रहरीले शवदाह गृहमा खोजी गर्दा श्रीमतीको शवका अवशेषहरू फेला पारेको थियो ।
यो दम्पती सँगै बस्दै आएका थिए । आसाहियामा चिडियाखाना जापानभरका पर्यटकहरू आकर्षित गर्ने एक प्रसिद्ध पर्यटकीय स्थल हो । मार्चसम्मको १२ महिनाको अवधिमा करिब १३ लाख ३० हजार मानिसले यसको भ्रमण गरेका थिए ।
गर्मी मौसमको तयारीका लागि चिडियाखाना हाल अस्थायी रूपमा बन्द गरिएको छ । यसअघि बुधबारका लागि तय गरिएको चिडियाखानाको पुनः सञ्चालन, अनुसन्धानका कारण शुक्रबारसम्मका लागि सारिएको छ ।

