
टोकियो । दक्षिण–पश्चिमी जापानको पहाडमा भेटिएको धातुको एउटा टुक्राले एक व्यक्तिलाई युद्धकालीन बिर्सिएको विमान दुर्घटना पत्ता लगाउन र दोस्रो विश्वयुद्धका दुवै पक्षका शोकमा रहेका परिवारहरूलाई पुनर्मिलन गराउन मद्दत गरेको छ ।
सन् १९८७ को सेप्टेम्बरमा मियाँजाकी प्रिफेक्चरको ताकाचिहो शहरका कर्मचारी हिरोसी कुडो आफ्ना सहकर्मीसँग पहाडी बाटोमा हिँड्दै गर्दा उनको खुट्टा एउटा वस्तुमा ठोक्किन पुग्यो ।
जमिनमा आधा गाडिएको अवस्थामा ५० सेन्टिमिटर लामो धातुको टुक्रा भेटियो । जसमा अक्षर र अंकहरू कुँदिएका थिए । उनले त्यसलाई निकाले ।
‘मैले स्वतःस्फूर्त रूपमा यो विमानको पार्टपुर्जा हो भन्ने सोचें,’ उनले भने, ‘तर यो पहाडको बीचमा कसरी आयो ?’
यही प्रश्नले उनलाई स्थानीय बासिन्दाहरूकहाँ पुर्यायो । वृद्ध उमेरका स्थानीय ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले उनलाई दोस्रो विश्वयुद्ध समाप्त भएलगत्तैको एक बर्खे दिनमा एक अमेरिकी सैन्य विमान पहाडमा खस्दा धेरै सैनिकहरूको मृत्यु भएको घटनाबारे जानकारी गराए । केहीले त्यो घटनापछि आफूले देखेको कुरा स्मरण गरे ।
उनीहरूले युद्धपछिको गरिबीका कारण मानिसहरू तितरवितर भएका सामानहरू जस्तै, डिब्बामा राखिएका खानेकुरा र साबुन संकलन गर्न पहाड चढेको स्मरण गरे । एकजनाले भने, ‘आकाशबाट अमेरिका खस्यो ।’
कुडोले स्थानीय पत्रिका र नगरपालिकाका अभिलेखमा पुष्टि खोजे । तर केही फेला पारेनन् । त्यसपछि, एउटा पुरानो पुस्तक पसलमा उनले ताकाचिहोका एक बासिन्दाको संस्मरण फेला पारे ।
त्यसमा युद्ध समाप्त भएको केही दिनपछि बिहान ७ बजेतिर भएको विस्फोटको वर्णन थियो । एउटा बी–२९ बमवर्षक विमान खसेको र त्यसले वरपरको भूभाग जलेको थियो । करिब १० अमेरिकीहरूको शव छरिएका सामानहरूका बीचमा थिए र गाउँलेहरू सकेको सामान संकलन गर्न गएका थिए ।
यो विवरण गाउँलेहरूले भनेको कुरासँग मेल खायो । पछि कुडोले लेखकसँग सम्पर्क गरे । ती लेखकले भने, ‘अहिले फर्केर हेर्दा जापानसम्म आएर ज्यान गुमाएको यो घटना धेरै दुःखद थियो ।’
यो घटनाको रहस्य पत्ता लगाउन उनले अमेरिकी सैन्य अभिलेखबारे अंग्रेजी जान्ने एक साथीसँग सोधपुछ गरे । दुई महिनापछि एउटा प्रतिवेदनले ३० अगस्ट, १९४५ मा युद्ध समाप्त भएको केही समयपछि फुकोओकाको युद्धबन्दी शिविरमा जाँदै गर्दा एउटा बी–२९ विमान दुर्घटना भएको पुष्टि भयो । जसमा १२ जनाको मृत्यु भएको थियो ।
त्यही समयमा कुडोले अर्को दुर्घटनाको बारेमा थाहा पाए । गाउँ कार्यालयका एक पूर्व कर्मचारीले उनलाई जापानी सेनाको लडाकु विमान पनि सोही क्षेत्रमा खसेको थियो र सायद परिवारलाई यसको जानकारी नभएको बताए ।
थप अनुसन्धानले उक्त विमान ‘हायाबुसा’ भएको देखायो । ७ अगस्ट, १९४५ मा नागासाकीको इकी नजिकै रातको तालिमका लागि सागा प्रिफेक्चरको मेटाबारु एयरफिल्डबाट उडेको त्यो विमान कहिल्यै फर्किएन ।
पाइलट सार्जेन्ट गिजीन तोकु थिए, जो टोकियोका थिए । आधिकारिक अभिलेखमा उनको मृत्युको स्थान कोरिया जलडमरू (कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री मार्ग) उल्लेख थियो ।
वास्तवमा, विमान ताकाचिहोको पहाडमा खसेको थियो । उनको अवशेष स्थानीय सैन्य चिहानमा गाडिएको थियो र कुनै परिवारका सदस्यले भ्रमण गरेका थिएनन् ।
उपलब्ध एकमात्र ठेगाना युद्धको अन्त्यको थियो । केही हुने हो या होइन भन्ने अनिश्चितताका साथ उनले पत्र पठाए । केही दिनपछि उनलाई तोकुकी बहिनी बताउने एक महिलाको फोन आयो ।
उनलाई आफ्नो भाइको मृत्यु कहाँ भएको थियो भन्ने जानकारी समेत थिएन । ‘मैले थाहा पाएँ,’ कुडोले भने, ‘मैले यो खोजी गरेकोमा र सहयोग गरेकोमा खुसी लाग्यो ।’
सन् १९९२ को मार्चमा तोकुका तीन बहिनीले ताकाचिहोको भ्रमण गरे । सन् १९९५ मा युद्ध अन्त्यको ५०औं वर्षगाँठ नजिकिँदै गर्दा कुडोले जापानी र अमेरिकी दुवै सैनिकका लागि संयुक्त स्मारक बनाउने प्रस्ताव गरे ।
२६ अगस्ट, १९९५ मा आयोजित अनावरण समारोहमा अमेरिकी चालक दलका आफन्तहरू र तोकुका बहिनीहरू उपस्थित थिए ।
भोलिपल्ट एक अमेरिकी आफन्तले दुर्घटनास्थलको भ्रमण गरे । त्यसयता हरेक अगस्टमा शान्ति स्मृति सेवा आयोजना गरिँदै आएको छ । दुवै देशका परिवारहरूले भाग लिदै आएका छन् र गत वर्षको स्मृति सभामा करिब ३० स्थानीय विद्यालयका विद्यार्थीहरू सहभागी थिए ।
हालैको एक समारोहमा बी–२९ पाइलटका एक आफन्तले शान्तिको समयमा युद्धको क्रुरता बिर्सन सजिलो हुने तर आजका अधिकांश मानिसहरूलाई त्यो युग कस्तो थियो भन्ने थाहा नभएको भन्दै शान्ति कायम राख्न ठूलो प्रयासको आग्रह गरे ।

