जापानको होक्काइदो क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्प

|

टोकियो । सोमबार बिहानै उत्तरी जापानका केही भूभागमा ६.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।

यद्यपि यसबाट हालसम्म कुनै भौतिक क्षति वा मानवीय हताहतीको विवरण प्राप्त भएको छैन ।

जापान मौसम विज्ञान एजेन्सीले यस भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरेको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु जापानको उत्तरी टापु होक्काइडोको सराबत्सु शहरबाट १८ किलोमिटर पश्चिममा र ८१ किलोमिटर गहिराइमा रहेको थियो । यूएसजीएसले भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरेको छ ।

जापानमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ठिक एक हप्तापछि अर्को भूकम्प गएको हो ।

गत साताको भूकम्पका कारण देशको उत्तर–पूर्वी तटीय क्षेत्रहरूमा ‘मेगाक्वेक’ अर्थात् अति शक्तिशाली भूकम्प जाने जोखिम बढ्न सक्ने भन्दै पूर्वसतर्कता अपनाउन आग्रह गरेका थिए ।