इरानयुद्धपछि पहिलोपटक अमेरिकी तेल बोकेको ट्यांकर जापान आइपुग्यो

|

टोकियो । अमेरिका र इजरायलले इरानमाथि हमला गरेसँगै युद्ध सुरु भएपछि पहिलोपटक अमेरिकाबाट कच्चा तेल बोकेको ट्यांकर जापान आइपुगेको छ । जापानमा २८ फेब्रुअरीमा युद्ध सुरु भएपछि तेल आइपुगेको यो पहिलो पटक हो ।

कच्चा तेल खरिद गरेको ‘कोस्मो इनर्जी होल्डिंग्स कम्पनी’ का अनुसार टोकियो आइपुगेको उक्त ट्यांकरले १ लाख ४५ हजार किलोलिटर कच्चा तेल बोकेको छ। जुन जापानको आधा दिनको घरेलु खपत बराबर हो ।

इरानमाथि अमेरिका–इजरायलले हमला गरेपछि विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने ‘होर्मुज स्ट्रेट’ हुँदै तेल बोकेका जहाजहरु आवतजावत करिब ठप्प बनेको थियो ।

जापानले आफ्नो कुल कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी खाडी देशबाटै आयात गर्ने गर्छ र अधिकांश तेल यही जलमार्ग हुँदै जापान पुग्ने गर्दथ्यो ।

उक्त ट्यांकर मार्च २२ मा टेक्सासबाट छुटेर पनामा नहर हुँदै जापान आइपुगेको हो । पनामा नहर साना जहाजहरूका लागि मात्र उपयुक्त मानिन्छ ।

यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै जापानी सरकार र तेल थोक बिक्रेताहरूले होर्मुज स्ट्रेटलाई छलेर अन्य वैकल्पिक मार्गहरूबाट तेल आपूर्ति सुरक्षित गर्ने प्रयास गरिरहेका छन् ।

यस कार्यअन्तर्गत अमेरिकासँगै जापानले दक्षिण अमेरिका र मध्य एसियाजस्ता अन्य स्रोतहरूबाट पनि कच्चा तेल खरिद गर्ने योजना बनाएको छ ।