
टोकियो । जापानको सबैभन्दा ठूलो ‘कार्स्ट’ पठार अकियोशिदाई र यस वरपरको क्षेत्रलाई युनेस्कोले ‘ग्लोबल जियोपार्क’ को रूपमा मान्यता दिएको छ ।
अन्तर्राष्ट्रिय भूगर्भीय महत्त्वका परिदृश्यहरूका कारण यस क्षेत्रलाई सो सूचीमा समावेश गरिएको हो ।
यामागुची प्रान्तको मिने शहरमा अवस्थित मिने–अकियोशिदाई कार्स्ट पठार, जहाँ चुनढुङ्गाका ढिस्काहरू भेडाको बथान जस्तै देखिन्छन् । यो विश्वव्यापी मान्यता प्राप्त गर्ने जापानको ११ औँ स्थल बनेको छ ।
पेरिसमा सम्पन्न संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को कार्यकारी बोर्डको बैठकले पश्चिम जापानको यस विशेष प्राकृतिक क्षेत्रलाई विश्व जियोपार्कका रुपमा मान्यता दिने निर्णयलाई अनुमोदन अनुमोदन गरेको हो ।
यस पठारको उत्पत्ति करिब ३५ करोड वर्षअघि समुद्रमा मुगाको चट्टानबाट भएको मानिन्छ । जुन पछि जमिनमा उकासिँदै चट्टानको रूपमा परिणत भएको थियो । वर्षाको पानी र भूमिगत जलले चुनढुङ्गालाई खियाउँदै लगेपछि हालको यो विशिष्ट भू–बनोट तयार भएको हो ।
यस क्षेत्रमा जापानको सबैभन्दा ठूलो चुनढुङ्गा गुफाहरूमध्ये एक अकियोशिदो समेत समावेश छ ।
यसअघि सन् २०२३ मा जापानको इशिकावा प्रान्तको हाकुसान शहर (माउन्ट हाकुसान र तेदोरी नदी क्षेत्र) लाई युनेस्को ग्लोबल जियोपार्कको मान्यता दिइएको थियो ।

