इवाराकी प्रिफेक्चरले अवैध कामदारबारे सूचना दिनेलाई १० हजार येन पुरस्कार दिने

|

टोकियो । जापानको इबाराकी प्रिफेक्चरले अवैध रूपमा विदेशी कामदार राख्ने व्यवसायबारे सूचना दिनेलाई नगद पुरस्कार दिने योजना सार्वजनिक गरेको छ।

बुधबार घोषणा गरिएको उक्त व्यवस्था आगामी मे ११ देखि लागू हुने बताइएको छ।

प्रिफेक्चरका अनुसार, सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरी मुद्दा दर्ता भएमा सूचनादातालाई १० हजार येन उपलब्ध गराइनेछ।

सन् २०२४ सम्म जापानमै सबैभन्दा बढी अवैध विदेशी कामदार इबाराकीमै रहेको तथ्यपछि यस्तो कदम चालिएको अधिकारीहरूको भनाइ छ।

योजना कार्यान्वयनका क्रममा जातीय आधारमा हुने प्रोफाइलिङ रोक्न विशेष मापदण्ड ल्याइने जनाइएको छ।

व्यक्तिको बाह्य स्वरूप वा राष्ट्रियताका आधारमा मात्र सूचना दिन नपाइने स्पष्ट पारिएको छ। साथै, उजुरी दिन चाहनेले प्रिफेक्चरको आधिकारिक वेबसाइटमार्फत आफ्नो परिचय खुलाएर निवेदन दिनुपर्नेछ।

तर, उक्त निर्णयप्रति स्थानीय बार एसोसिएसन तथा नागरिक समूहहरूले विरोध जनाएका छन्। उनीहरूले यसले सामाजिक विभाजन बढाउन सक्ने र विदेशी समुदायमाथि भेदभावको जोखिम बढ्ने चेतावनी दिएका छन्।