
टोकियो । उत्तर–पूर्वी जापानको इवाते प्रान्तको एउटै सहरका दुई स्थानमा भीषण डढेलो लागेपछि स्थानीय अधिकारीहरूले १ हजार भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
साथै, आगो निभाउनका लागि ‘सेल्फ–डिफेन्स फोर्सेस (एसडीएफ) सँग सहयोगको अनुरोध गरिएको छ ।
पहिलो आगलागी ओत्सुचीको कोजुची जिल्लामा बुधबार दिउँसो करिब १ः५० बजे सुरु भएको थियो । जुन विस्तारै नजिकैका भवनहरू र वन क्षेत्रमा फैलिएको थियो ।
प्रहरी र अन्य स्रोतका अनुसार त्यसको करिब १० किलोमिटर टाढा किरकिरी जिल्लाको पहाडी क्षेत्रमा दिउँसो अर्को डढेलो सल्किएको थियो ।
सहर प्रशासनले दोस्रो आगलागी क्षेत्र नजिकै बसोबास गर्ने ५६६ घरधुरीका कुल १ हजार ७७ जनालाई सुरक्षित स्थानमा जान सल्लाह दिएको छ । आगलागीका कारण हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन ।
स्थानीय मौसम विभागले ओत्सुचीमा सुक्खा हावा र तीव्र गतिको बतास चल्न सक्ने चेतावनी यसअघि नै दिएको थियो ।
आफ्नो परिवारसँगै एक जिम हलमा शरण लिन पुगेकी ६१ वर्षीया महिलाले भनिन्, ‘दुईवटा छुट्टाछुट्टै ठाउँमा आगलागी भएको सुनेर म अचम्ममा परेँ ।’ उनले आफ्नो घरको अवस्थालाई लिएर चिन्ता समेत व्यक्त गरिन् ।

