
इवाते । जापानको उत्तर–पूर्वी प्रान्त इवातेमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार उक्त शव भेटिएको स्थान नजिकै एक प्रहरी अधिकारी भालुको आक्रमणमा परी घाइते भएका थिए ।
यदि यो मृत्यु भालुको आक्रमणकै कारण भएको पुष्टि भएमा गत नोभेम्बर ३ मा छिमेकी प्रान्त अकिताको युजावामा भएको घटनापछि जापानमा भालुको आक्रमणबाट भएको यो पहिलो मृत्यु हुने वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ भरी जापानमा भालुको आक्रमणबाट १३ जनाको ज्यान गएको थियो । इवातेमा मात्रै जुलाईदेखि अक्टोबरको बीचमा पाँच जनाको मृत्यु भएको थियो । जसमध्ये चार जनाको मृत्यु अक्टोबर महिनामा मात्र भएको थियो ।
प्रहरीका अनुसार ५६ वर्षीय एक प्रहरी अधिकारी मंगलबार बिहान शिवास्थित एक खोला किनारमा हराइरहेको व्यक्तिको खोजी गर्ने क्रममा भालुसँग जम्काभेट भएको थियो ।
सोही स्थानभन्दा केही पर एक वयस्क महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । आक्रमणबाट ती अधिकारीको हात र अनुहारमा चोट लागेको छ ।
अधिकारीहरूका अनुसार खोजी टोलीसँगै रहेका एक शिकारीले उक्त पोथी भालुलाई मारेका छन् । भालु १.३ मिटर लामो र वयस्क रहेको बताइएको छ ।
प्रहरीले सोमबार दिउँसो इन्जिन चलिरहेकै अवस्थामा सडकमा बेवारिसे भेटिएको एक गाडीको धनीको खोजी गरिरहेको थियो ।

