
ओइता । दक्षिण–पश्चिमी जापानको ग्राउण्ड सेल्फ–डिसेन्स फोर्स (जीएसडीएफ) को प्रशिक्षण क्षेत्रमा ट्यांकको गोला समयभन्दा पहिले विस्फोट हुँदा तीन सदस्यको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यो घटना ओइता प्रिफेक्चरको हिजुदाइ तालिम केन्द्रमा ट्यांक अभ्यासका क्रममा भएको थियो । जतिबेला प्रहार हुनुअघि नै गोला विस्फोट भयो । विस्फोटको कारण खुल्न नसकेको र छानबिनका लागि समिति गठन गरिएको जनाइएको छ ।
जीएसटीएफका चीफ अफ स्टाफ जनरल मासायोशी अराईले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार ‘टाइप १०’ ट्याङ्कभित्र रहेका ४५ वर्षीय केन्तारो हामाबे, ३१ वर्षीय सिन्गो ताकायामा र ३० वर्षीय कोजो कानाईको मृत्यु भएको छ ।
उनीहरू सबै सोही प्रान्तको क्याम्प कुसुमा रहेको वेस्टर्न आर्मी ट्यांक युनिटका सदस्य थिए ।
दुर्घटनामा परेका चार जना कर्मचारीहरू ट्यांक कमाण्डर, गनर (गोला हान्ने), प्रहारको शुद्धता सुनिश्चित गर्ने सुरक्षा अधिकारी र चालकका रूपमा कार्यरत थिए । जीएसटीएफका अनुसार घाइते भएका चालकको अवस्था गम्भीर रहेको छ ।
रक्षा मन्त्री सिन्जिरो कोइजुमीले टोक्योस्थित संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै घटनाको विवरण र कारण पुष्टि गर्ने प्रयास गरिरहेको बताएका छन् ।
हिजुदाइ तालिम केन्द्र करिब ५ हजार हेक्टरमा फैलिएको छ । जसलाई जीएसटीएसले ठूलाठूला अभ्यासका लागि प्रयोग गर्ने गर्दछ ।

