जापानको शान्तिवादी नीतिमा बदलाब, हतियार निर्यातको बाटो खुला

|

टोकियो । दोस्रो विश्वयुद्धपछि जापानले पहिलो पटक आफ्नो शान्तिवादी नीतिमा बदलाब ल्याएको छ । योसँगै अब जापानले लडाकु विमान, मिसाइल र युद्धपोतजस्ता हतियार निर्माण गरेर अन्य देशलाई बेच्ने बाटो खुला भएको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले अब सबै रक्षा उपकरणको निर्यात सम्भव हुने बताएकी छन् । यद्यपि संयुक्त राष्ट्रसंघको चार्टरअनुसार प्रयोग गर्न बाचा गर्ने देशलाई मात्रै हतियार बेच्ने उनको भनाई छ ।

हालै जापान र अस्ट्रेलियाबीच ७ अर्ब डलरको सम्झौता समेत भएको थियो । जसअनुसार मित्सुबिसी हेभी इन्डस्ट्रिजले अस्ट्रेलियाको नौसेनाका लागि ११ मध्ये ३ युद्धपोत निर्माण गर्नेछ ।

यसअघि सन् १९७६ मा लागू भएको प्रावधान अनुसार जापानले निगरानी र माइन स्वीपिङजस्ता गैरघातक सैन्य उपकरण मात्रै निर्यात गर्दै आएको थियो ।

दोस्रो विश्वयुद्ध र हिरोसिमा–नाकासाकी परमाणु हमलापछि जापानले युद्धबाटै टाढै रहने नीति लिएको थियो । जापानी संविधानको धारा–९ अनुसार जापानले युद्ध नगर्ने र सेना पनि आत्मरक्षासम्म सीमित हुने उल्लेख थियो ।

सन् १९७६ मा जापानले घातक हतियार निर्यातमा लगभग पूर्ण रुपमा रोक लगाएको थियो ।

बदलिदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यो बदलाब ल्याएको जापान सरकारको भनाई छ । चीनको बढ्दो शक्ति, उत्तर कोरियाको लगातारको मिसाइल परीक्षण र रुस–युक्रेन युद्धजस्ता घटनाक्रमका कारण जापानले आफ्नो नीति बदलाब गरेको हो ।