
टोकियो । जापानको राजधानी टोकियोको एक मनोरञ्जन पार्कमा उपकरण निरीक्षण गर्ने क्रममा एक महिला कामदार करिब पाँच घण्टासम्म अड्किएर मृत्यु भएको छ ।
यो दुर्घटना बुन्क्यो वार्डस्थित टोक्यो डोम सिटी एट्र्याक्सन्समा बिहान करिब ११ः५० बजे भएको थियो । यसरी अड्किएर मृत्यु हुनेमा टोकियो डोम कर्पोरेसनकी २४ वर्षीया कर्मचारी हिना कामिमुरा रहेकी छन् । फ्लाइङ बेलुन नामक खेलमा काम गरिरहदा उनी अड्किन पुगेकी थिइन् ।
स्थानीय प्रहरी र सञ्चालकका अनुसार उक्त खेलमा गोलाकार रूपमा १२ वटा सिटहरू राखिएका हुन्छन् र यो बीचको पिलरको वरिपरि घुम्दै करिब १० मिटरको उचाइसम्म पुग्छ ।
उनी पिलर नजिकैको भर्याङमा थिइन् र तल झर्दै गरेका सिटहरू र पिलरको बीचमा थिचिन पुगिन् ।
उनलाई साँझ करिब ५ बजे बाहिर निकालिएको थियो, तर त्यतिबेला उनको हृदयगति बन्द भइसकेको थियो । उनलाई अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सञ्चालकका अनुसार उक्त घटनापछि सो दिनका लागि पार्क बन्द गरिएको थियो ।

