जापानमा ८ म्याग्निच्युडभन्दा शक्तिशाली भूकम्पको जोखिम बढेको चेतावनी

|

टोकियो । जापानले ८ म्याग्निच्युड वा सोभन्दा शक्तिशाली भूकम्प जान सक्ने जोखिम बढेको भन्दै विशेष सुझाव जारी गरेको छ ।
उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएर सुनामीको चेतावनी जारी भएसँगै सरकारले शक्तिशाली भूकम्पको चेतावनी जारी गरेको हो ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उत्तरी इवाते प्रान्तको प्रशान्त महासागर क्षेत्रमा सोमबार अपरान्ह ४ बजेर ५३ मिनेटमा ७.७ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि यो एडभाइजरी जारी गरेको हो ।

भूकम्पको धक्का यति तीव्र थियो कि केन्द्रविन्दुभन्दा सयौँ किलोमिटर टाढा रहेको राजधानी टोकियोका ठूला भवनहरू समेत हल्लिएका थिए ।

मौसम एजेन्सीले भनेको छ, ‘नयाँ र विशाल भूकम्प जाने सम्भावना सामान्य समयको तुलनामा अहिले तुलनात्मक रूपमा उच्च छ ।’

अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार प्रभावित क्षेत्रका नगरपालिकाहरूले सोमबारको भूकम्पपछि १ लाख ८२ हजारभन्दा बढी बासिन्दाहरूलाई अनिवार्य नभए पनि सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए ।

भूकम्प गएको करिब ४० मिनेटपछि इवाते प्रान्तको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर अग्लो सुनामीको छाल ठोक्किएको थियो ।

एजेन्सीले सुरुमा भूकम्पको तीव्रता ७.४ अनुमान गरे पनि पछि त्यसलाई परिमार्जन गरी ७.७ पुर्‍याएको थियो ।

एजेन्सीले पछिल्लो सल्लाहले कुनै निश्चित भविष्यवाणी नगरी बढेको जोखिमलाई मात्र झल्काएको स्पष्ट पारेको छ । एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘सम्भावना न्यून भए तापनि अर्को ठूलो भूकम्प जाने सम्भावना छ । त्यसैले कृपया ती क्षेत्रहरूमा भूकम्प पूर्वतयारीका उपायहरूको समीक्षा गर्नुहोस् ।’

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले पत्रकार सम्मेलनमा गम्भीर चोटपटक वा ठूलो क्षतिको कुनै तत्काल रिपोर्ट नआएको जानकारी दिए ।

राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका धेरै बन्दरगाहहरू आसपास कुनै स्पष्ट क्षति देखिएको छैन ।

यद्यपि, अधिकारीहरूले आगामी दुईदेखि तीन दिनभित्र पराकम्पनहरू जान सक्ने र त्यसले अझ शक्तिशाली धक्का दिन सक्ने चेतावनी दिएका छन् ।

साँझतिर अधिकारीहरूले होक्काइडो, आओमोरी, इवाते र फुकुशिमा प्रान्त लगायतका उत्तर–पूर्वी प्रशान्त तटमा एक मिटरसम्मको छाल आउनसक्ने भन्दै सुनामी चेतावनीलाई ‘सावधानी’ स्तरमा घटाएका थिए ।

जापानी समाचार एजेन्सी क्योदोका अनुसार मध्यरात तिर यी सबै चेतावनीहरू पूर्ण रूपमा हटाइएका थिए ।

महाभूकम्पको डर

प्रधानमन्त्रीको कार्यालयले संकट व्यवस्थापन टोली गठन गरेको छ । सरकारले कुनै हताहती वा गम्भीर भौतिक क्षति भए/नभएको पत्ता लगाउन काम गरिरहेको छ । प्रधानमन्त्री सानाए ताकाइचीले भनिन्, ‘चेतावनी जारी गरिएका क्षेत्रमा बसोबास गर्नेहरू कृपया उच्च र सुरक्षित स्थानमा जानुहोस् ।’

जापान विश्वकै सबैभन्दा बढी भूकम्पीय सक्रिय देशहरूमध्ये एक हो । जुन प्रशान्त महासागरीय ‘रिंग अफ फायर’ को पश्चिमी किनारामा चारवटा प्रमुख टेक्टोनिक प्लेटहरूको माथि अवस्थित छ ।

करिब १२ करोड ५० लाख जनसंख्या भएको यो टापु राष्ट्रमा सामान्यतया हरेक वर्ष करिब १५ सय भूकम्पका धक्काहरू महसुस हुन्छन् । जुन विश्वभरका भूकम्पको करिब १८ प्रतिशत हो ।

धेरैजसो भूकम्पहरू हल्का हुन्छन् । यद्यपि तिनीहरूले पुर्‍याउने क्षति स्थान र जमिनको सतहमुनिको गहिराइ अनुसार फरक–फरक हुन्छ ।
जापानमा २०११ को ९ म्याग्निच्युडको शक्तिशाली महाभूकम्प गएको थियो । यो भूकम्पपछि आएको सुनामीका कारण करिब १८ हजार ५ सय मानिस मारिएका वा बेपत्ता भएका थिए भने फुकुशिमा आणविक भट्टीमा ठूलो क्षति पुगेको थियो ।

सन् २०२४ मा मौसम एजेन्सीले नान्काई ट्रफमा पहिलो पटक सम्भावित महाभूकम्पको विशेष सल्लाह जारी गरेको थियो । यो ८०० किलोमिटर लामो समुद्री सुरुङ हो, जहाँ फिलिपिन्स सागरको टेक्टोनिक प्लेट जापान अवस्थित महाद्वीपीय प्लेटको मुनि बिस्तारै छिर्दै छ ।

सरकारले नान्काई ट्रफमा जाने भूकम्प र त्यसपछिको सुनामीले २ लाख ९८ हजार मानिसको ज्यान लिन सक्ने र २ ट्रिलियन डलरसम्मको क्षति पुर्‍याउन सक्ने बताएको छ ।

यसअघि डिसेम्बर २०२५ मा उत्तरी तटमा ७.५ म्याग्निच्युडको भूकम्प गएपछि पनि एक साता लामो ‘मेगाक्वेक’ सल्लाह जारी गरिएको थियो । जसमा ४० भन्दा बढी मानिस घाइते भएका थिए । तर कुनै ठूलो क्षति भएको थिएन ।