
टोकियो । जापानको सानरिकु तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज अपरान्ह करिब ४ बजेर ५३ मिनेटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । जसका कारण यसको धक्का धेरै टाढासम्म महसुस गरिएको छ। टोकियो लगायतका विभिन्न क्षेत्रमा पनि कम्पन अनुभव गरिएको जनाइएको छ।
भूकम्प लगत्तै तटीय क्षेत्रहरूमा ठूलो सुनामी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको छ।
अधिकारीहरूले समुद्र किनार आसपास बसोबास गर्ने बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित तथा अग्लो स्थानतर्फ सर्न आग्रह गरेका छन्।
यसैबीच, आपतकालीन भूकम्प पूर्वसूचना प्रणाली, अर्थात् इमरजेन्सी अर्थक्वेक वार्निङ प्रणालीमार्फत सर्वसाधारणलाई समयमै सतर्क गराइएको थियो।
धेरै स्थानमा मोबाइल फोन, टेलिभिजन र सार्वजनिक प्रसारण प्रणालीमार्फत चेतावनी सन्देश प्रवाह गरिएको जनाइएको छ।
हाल समुद्री सतहमा हुने परिवर्तन र सम्भावित सुनामीका लहरहरूको निरन्तर निगरानी भइरहेको छ। स्थानीय प्रशासन र उद्धार टोलीहरू उच्च सतर्कतामा राखिएका छन् भने नागरिकहरूलाई अनावश्यक रूपमा समुद्र किनार नजान आग्रह गरिएको छ।
यसैगरी, परकम्प आउने सम्भावना रहेकोले जनतालाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
हालसम्म ठूलो क्षतिको विवरण प्राप्त नभए पनि, सम्बन्धित निकायहरूले अवस्थाको नजिकबाट अनुगमन गरिरहेका छन्।

