हाकोनेको फेदीमा भलिबल प्रतियोगिता, विजेतालाई ३ लाख ११ हजार

|

टोकियो । नेपाल कल्याण समाज जापानको आयोजनामा आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भलिबल प्रतियोगिता हुने भएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ताल, तातोपानीका मुहान र प्रसिद्ध ‘कालो अण्डा’ का लागि विश्वभर चिनिने हाकोनेको मनमोहक वातावरणमा खेलाडीहरूले प्रतिस्पर्धासँगै प्रकृतिलाई समेत नजिकबाट नियाल्न पाउनेछन्।

ज्वालामुखी ग्यासको प्रभावले कालो देखिने र आयु बढाउने विश्वास गरिएको यहाँको कालो अण्डा पर्यटकहरूका लागि विशेष आकर्षण रहनेछ भने खेलका माध्यमबाट नेपाली समुदायलाई मनोरञ्जन र एकताको सूत्रमा बाँध्ने लक्ष्य लिइएको छ।

आयोजक समितिका अध्यक्ष बिष्णु शर्माले प्रतियोगिताको मुख्य उद्देश्य जापानमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको बताए ।

उनका अनुसार यो कार्यक्रम नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा महत्वपूर्ण माध्यम बन्नेछ।

महासचिव खेमलाल सापकोटाले सहभागी टोलीहरूको दर्ता, खेल तालिका र सुरक्षाजस्ता व्यवस्थापकीय पक्षहरूलाई उच्च प्राथमिकतामा राखेर तयारी तीव्र पारिएको जानकारी दिए ।

संस्थाले यस पटकको आयोजनालाई विगतभन्दा अझ परिष्कृत र भव्य बनाउने योजना अघि सारेको छ।

खेलकुद संयोजक मनोज केसीका अनुसार यस मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ११ येन र उपविजेताले २ लाख ११ हजार १ सय ११ येन प्राप्त गर्नेछन्।

पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।

संस्थापक संरक्षक जोय बहादुर खड्काले सेइसा लेक एरिना हाकोनेमा हुने यो खेलले खेल, पर्यटन र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रम जुन १६ का दिन बिहान ९ बजे सुरु भएर साँझ ५ बजे समापन हुनेछ।