नेपाली दूतावास र निगाता गभर्नर बीच श्रम सहकार्य बारे छलफल

|

जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले निगाता प्रान्तका गभर्नर हानाजुमी हिदेयोसँग भेटवार्ता गर्दै मानव संसाधन आदान–प्रदान तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल गरेका छन्।

निगाता प्रान्तीय कार्यालयमा भएको उक्त भेटमा दुवै पक्ष बीच आगामी सहकार्यका सम्भावना र कार्यदिशा बारे विचार आदान–प्रदान भएको हो।

भेटका क्रममा गभर्नर हानाजुमीले प्रान्तको आर्थिक तथा सामाजिक विकासमा नेपाली कामदारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनका अनुसार हाल निगाता प्रान्तमा करिब ८०० नेपाली श्रमिक कार्यरत छन्, जसले बढ्दो जनशक्ति अभाव पूर्ति गर्न ठूलो योगदान पुर्‍याइरहेका छन्।

कार्यवाहक राजदूत पौडेलले जापान प्रति नेपाली युवाहरूको आकर्षण उच्च रहेको बताउँदै योग्य र दक्ष जनशक्ति पठाउने प्रणालीलाई अझ व्यवस्थित बनाइने बताए।

गभर्नर हानाजुमीले नेपाली श्रमिकहरूलाई सुरक्षित र राम्रो कार्य वातावरण उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्दै उचित निकाय मार्फत कामदार पठाउने र प्रान्तले पनि स्वीकृति प्रक्रियामा कडाइ गर्ने बताएका छन्।

निगाता प्रान्त सरकारले यस भेटलाई नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको छ।