भाषा दक्षता अनिवार्य: जापानको ‘इन्जिनियर/ह्युम्यानिटिज’ भिसामा कडाई

|

टोकियो । जापानले विदेशी पेशेवरहरूका लागि सबैभन्दा बढी प्रयोग हुने ‘इन्जिनियर/ह्युम्यानिटिज/इन्टरनेशनल सर्भिसेस’ भिसामा भाषा दक्षता अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ।

बुधबारदेखि कार्यान्वयनमा आएको यो नियमअनुसार काममा भाषा सीप आवश्यक पर्ने आवेदकहरूले आफ्नो दक्षता प्रमाणित गर्नुपर्नेछ।

न्याय मन्त्रालयका अनुसार अब आवेदकहरूले कम्तीमा सीईएफआर (सीईएफआर) को बी–२ स्तर बराबरको भाषा क्षमता देखाउनुपर्नेछ।

जापानी भाषाका हकमा जापानी ल्याङ्ग्वेज प्रोफिसेन्सी टेस्ट (जेएलपीटी) एन–२ वा बिजनेस जापानी प्रोफिसेन्सी टेस्ट (बीजेटी) मा ४०० वा सोभन्दा माथिको अंक प्रमाणका रूपमा मान्य हुने जनाइएको छ।

यो व्यवस्था विशेषगरी अनुवाद, दोभाषे, तथा ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने सेवा क्षेत्रमा कार्यरत विदेशीहरूलाई लक्षित गरी ल्याइएको हो।

आप्रवासन अधिकारीहरूले भिसा लिएर असम्बन्धित वा कम सिपका काममा संलग्न हुने प्रवृत्ति रोक्न यस्तो कडाइ गरिएको बताएका छन्।

यस श्रेणीअन्तर्गत हाल जापानमा बसोबास गरिरहेका विदेशीहरूले पनि कामको प्रकृति परिवर्तन गर्दा वा नयाँ भूमिकामा भाषा प्रयोग बढेमा दक्षताको प्रमाण पेस गर्नुपर्नेछ।

सरकारले यसअघि मार्चमा पनि थप कडाइ गर्दै विदेशी कामदार पठाउने र लिने कम्पनी दुवैले कामदारलाई भिसाको दायराभन्दा बाहिर काममा नलगाउने लिखित प्रतिबद्धता अनिवार्य गरेको थियो।

तर, केही समूहलाई भने भाषा प्रमाणपत्रबाट छुट दिइएको छ। जापानी विश्वविद्यालय वा प्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका, जापानमै अनिवार्य शिक्षा पूरा गरेका तथा २० वर्षभन्दा बढी समयदेखि बसोबास गरिरहेका दीर्घकालीन बासिन्दा यसमा समावेस छन्।

यसबीच, नयाँ नियमले जापानी भाषा परीक्षामाथि थप दबाब सिर्जना गर्ने देखिएको छ। व्यापक रूपमा प्रयोग हुने जेएलपीटी परीक्षामा माग अत्यधिक बढेपछि केही स्तरका आवेदन निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएका छन्।

डिसेम्बर २०२५ मा आयोजित जेएलपीटी परीक्षामा १० लाखभन्दा बढीले आवेदन दिएका थिए, जुन अहिलेसम्मकै उच्च संख्या हो। परीक्षा ८२ देशमा सञ्चालन गरिएको थियो।

यस वर्षको जुलाई सत्रका लागि पनि अत्यधिक मागका कारण केही स्तरका आवेदन अन्तिम मितिभन्दा १० दिनअघि नै बन्द गरिएको आयोजक संस्थाले जनाएको छ।

उक्त भिसा श्रेणी जापानमा विदेशी पेशेवरहरूको प्रमुख बसोबास अनुमति मानिन्छ। सन् २०२५ को अन्त्यसम्म यसअन्तर्गत ४ लाख ७५ हजारभन्दा बढी विदेशी जापानमा बसोबास गरिरहेका छन्, जो जापानको स्थायी बासिन्दापछि दोस्रो ठूलो जनसंख्या हो ।