
नागोया । विद्यार्थीहरूको अश्लील फोटो खिचेको र त्यसलाई सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा जापानमा एक पूर्व शिक्षकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।
गत वर्ष सार्वजनिक भएको शिक्षकहरूको ‘भोयरिज्म’ (लुकीछिपी अश्लील दृश्य खिच्ने) गिरोहसँग सम्बन्धित यो ठूलो मुद्दामा जेल सजाय पाउने उनी पहिलो व्यक्ति हुन् ।
नागोया जिल्ला अदालतले २८ वर्षीय कात्सुया इसिकावालाई उक्त सजाय सुनाएको हो । उनी पक्राउ पर्दा कानागावा प्रान्तको हायामास्थित एउटा जुनियर हाई स्कुलमा कार्यरत थिए ।
न्यायाधीश क्योको इरीले प्रतिवादीले पीडितका अनुहारसमेत समूहमा शेयर गरेर उनीहरूलाई ती तस्बिरहरू व्यापक रूपमा फैलने र थप हानी पुग्ने जोखिममा पारेको बताएकी छन् ।
अदालती फैसलाका अनुसार सन् २०२४ को जुलाईदेखि डिसेम्बरको बीचमा इसिकावाले कानागावाकै एउटा प्राथमिक विद्यालयमा कार्यरत रहँदा तीन जना छात्राको लुकीछिपी तस्बिर र भिडियो खिचेका थिए ।
उनले आफ्नो स्मार्टफोनमा ती छात्राहरूको भित्री वस्त्र देखिने गरी खिचिएका दृश्यहरू सामाजिक सञ्जालको ‘ग्रुप च्याट’ मा शेयर गरेका थिए ।
यसका साथै गत वर्ष अगस्टमा उनले कामाकुरा स्टेशनको एस्केलेटरमा एक १४ वर्षीया किशोरीको यस्तै फोटो खिचेका थिए ।
प्रतिवादीले चार पीडितमध्ये एक जनालाई मात्र क्षतिपूर्ति दिएको र पीडितका अभिभावकले कडा सजायको माग गरेकाले जेल सजाय नै उपयुक्त हुने निष्कर्ष अदालतले निकालेको छ ।
गत मार्च २६ को बहसका क्रममा पीडितका परिवारले अहिलेसम्म आफ्ना छोरीहरूलाई उनीहरू विरुद्ध यस्तो हर्कत भएको थियो भनेर सुनाउन समेत नसकेको बताएका थिए ।
एक पीडितकी आमाले अदालतमा भनिन्, ‘ती फोटोहरू जुनसुकै बेला सार्वजनिक हुन सक्छन् भन्ने डर हामीले जीवनभर बोकेर हिँड्नुपर्ने भयो ।’
यस घटनामा संलग्न टोकियो र अन्य चार प्रान्तका कार्यरत तथा पूर्व–शिक्षक गरी सात जना विरुद्ध मुद्दा चलाइएको थियो । यसअघि अन्य दुई जनालाई नागोया जिल्ला अदालतले पाँच वर्षको लागि निलम्बित रहने गरी तीन वर्षको जेल सजाय सुनाएको थियो ।

