जापानमा ४.५ प्रतिशत मानिस सधैं एक्लोपनमा : सर्वेक्षण

|

टोकियो । जापानमा सन् २०२५ मा गरिएको एक सरकारी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ ।

जुन तथ्यांकअनुसार देशका ४.५ प्रतिशत उत्तरदाताहरूले आफूलाई अक्सर वा सधैं एक्लो महसुस गर्ने बताएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले बढी हो ।

एक्लोपनको यो भावना विशेषगरी ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरूमा उच्च देखिएको छ । मन्त्रिपरिषद् कार्यालयले गत डिसेम्बरमा गरेको उक्त सर्वेक्षणमा १३.७ प्रतिशतले ‘कहिलेकाहीँ’ र १९.५ प्रतिशतले ‘समय–समयमा’ एक्लोपन महसुस गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणले अरूसँग बसेर विरलै खाना खाने मानिसहरूमा एक्लोपनको भावना बढी हुने गरेको तथ्य पनि उजागर गरेको छ । अरूसँग विरलै खाना खानेहरूमध्ये १७.३ प्रतिशतले आफू अक्सर वा सधैं एक्लो महसुस गर्ने बताएका छन् ।

यसको तुलनामा महिनामा एक वा दुई पटक अरूसँग बसेर खाना खानेहरूमा यो प्रतिशत ५.१ छ भने हप्तामा एक पटक अरूसँगै खाना खानेहरूमा यस्तो भावना ३.७ प्रतिशत मात्रै रहेको पाइएको छ ।

देशभरका १६ वर्ष वा सोभन्दा माथि उमेरका २० हजार व्यक्तिहरूलाई अनियमित रूपमा छनोट गरी हुलाकमार्फत् गरिएको यस सर्वेक्षणमा ५९.४ प्रतिशतले वैध प्रतिक्रिया दिएका थिए ।