टोकियोस्थित नेपाली राजदूतावासको अपिल: ‘नेपाल आरोग्यता वर्ष २०२७’ सफल बनाऔं

|

टोकियो । प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्यता दिवसका रूपमा मनाउने नेपालको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट मार्च २०२६ मा पारित भएसँगै विश्वभर यो दिवस मनाउन थालिएको छ।

यस अवसरले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि थप सशक्त र प्रभावशाली बनाउने विश्वास व्यक्त गरिएको छ। आरोग्यताको समग्र अवधारणालाई प्रवर्द्धन गर्दै अग्रणी राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने लक्ष्य राखिएको छ। योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक पर्यटन जस्ता क्षेत्रको विकासमार्फत आरोग्यता पर्यटनको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायका अनुसार आरोग्यता दिवसले स्वस्थ जीवनशैली अपनाउन, सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन तथा रोगबाट बचेर गुणस्तरीय र शान्त जीवन व्यतीत गर्न प्रेरणा दिनेछ। नेपालमा रहेका योगस्थल, ध्यान केन्द्र तथा औषधिजन्य जडीबुटीहरूको प्रयोग र प्रचारप्रसारमार्फत नेपाललाई आरोग्यताको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

यसै बीच नेपाल सरकारले आरोग्यता पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउँदै सन् २०२७ लाई ‘नेपाल आरोग्यता वर्ष २०२७’ का रूपमा मनाउने घोषणा गरेको छ। योग, ध्यान, आयुर्वेद तथा प्राकृतिक चिकित्सा जस्ता उपचारात्मक र निरोधात्मक उपायहरूको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली विकास गर्ने उद्देश्य राखिएको नेपाली राजदूतावासले जनाएको छ।

नेपालको यस अभियानमा जापानका सरकारी तथा विभिन्न निकायहरूका साथै जापानमा बसोबास गर्ने नेपाली समुदायबाट समेत सहयोग प्राप्त हुने विश्वास नेपाली राजदूतावास टोकियोले छ।