अक्टोबरदेखि विदेशी पर्यटकहरूलाई जापान रेल पासको मूल्य बढ्ने

|

टोकियो । जेआर समूहका कम्पनीहरूले आगामी अक्टोबरदेखि ‘जापान रेल पास’ को मूल्य बढाउने भएका छन् । ‘जापान रेल पास’ विदेशी पर्यटकहरूका लागि लक्षित एक टिकट हो, जसले धेरैजसो सिन्कान्सेन (बुलेट ट्रेन) सेवाहरू सहित जापानभरका रेलहरूमा असीमित यात्रा गर्न अनुमति दिन्छ ।

छ वटा यात्रुवाहक रेलवे सञ्चालकहरूले प्रस्ताव गरेको यस पासको मूल्य तीन वर्षमा पहिलो पटकको परिमार्जन अन्तर्गत अक्टोबर १ देखि करिब ५ देखि ६ प्रतिशतले बढ्ने उनीहरूले बताएका छन् ।

पासको मूल्य यसको वैधता अवधिमा निर्भर गर्दछ । वयस्कका लागि सात दिने पास साधारण रेल कोचमा यात्रा गर्न ३ हजारले बढेर ५३ हजार येन पुग्नेछ भने प्रिमियम ग्रीन कार कोचका लागि ४ हजार येनले बढेर ७४ हजार येन पुग्नेछ ।

वयस्क पासका लागि अन्य मूल्य परिवर्तनहरूमा साधारण रेल कोचका लागि १४ दिने पासमा ४ हजार येन बढेर ८४ हजार येन हुने छ भने २१ दिने पासमा ५ हजार येन बढेर १ लाख ५ हजार येन पुग्नेछ ।

जेआर समूहका कम्पनीहरूले पछिल्लो पटक अक्टोबर २०२३ मा जापान रेल पासको मूल्य परिमार्जन गरेका थिए । जतिबेला मूल्य करिब ७० प्रतिशतले बढाइएको थियो ।

कम्पनीहरूले पछिल्लो परिमार्जनले त्यसबेलादेखि यसका केही सदस्य कम्पनीहरूले गरेको भाडा समायोजनलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।

गत महिना, इस्ट जापान रेलवे कम्पनीले आफ्ना रेलहरूको भाडा औसत ७.१ प्रतिशतले बढाएको थियो । जुन १९८७ मा यसको निजीकरण भएपछि पूर्व राष्ट्रिय रेलवे सञ्चालकका लागि पहिलो पूर्ण–स्तरको वृद्धि थियो ।

यस वृद्धि अन्तर्गत स्थानीय रेलहरूको लागि १५० येनको न्यूनतम आधार भाडा बढेर १६० येन पुगेको छ ।

जापान रेल पासले सबै ६ वटा कम्पनीहरूद्वारा सञ्चालित रेल र सिन्कान्सेनको यात्रा समेट्छ । समेटिएका सेवाहरूमा लिमिटेड एक्सप्रेस, एक्सप्रेस, र्‍यापिड र स्थानीय रेलहरूका साथै केही बस र फेरीहरू पर्दछन् ।

यो पास ‘अस्थायी आगन्तुक’ को प्रवेश स्थिति अन्तर्गत जापान भ्रमण गर्ने विदेशी पर्यटकहरू वा १० वर्ष वा सोभन्दा बढी समयदेखि गैर–आवासीय रहेका जापानीहरूका लागि मात्र उपलब्ध छ ।

यात्रीहरूले जापान पुग्नुअघि तोकिएका बिक्री कार्यालयहरू र विदेशमा रहेका आधिकारिक एजेन्टहरूका साथै आधिकारिक अनलाइन प्लेटफर्म ‘जापान रेल पास रिजर्भेसन’ मार्फत पासहरू किन्न सक्छन् ।

अनलाइन प्लेटफर्मको प्रयोगलाई प्रोत्साहित गर्न, कम्पनीहरूले अनलाइन खरिद गरिएका पासहरूको मूल्य सीमित समयका लागि अपरिवर्तित रहने बताएका छन् ।