होन्डाले मेमा नयाँ ‘कम्प्याक्ट ईभी’ सार्वजनिक गर्ने, इन्जिनयुक्त गाडीको जस्तै अनुभव दिने

|

टोकियो । होन्डा मोटर कम्पनीले आगामी मे महिनाको अन्त्यतिर जापानमा एउटा नयाँ ‘कम्प्याक्ट’ विद्युतीय गाडी (ईभी) बजारमा ल्याउने घोषणा गरेको छ ।

यो गाडीमा शक्तिशाली एक्सेलेरेसन मोड र इन्जिनको जस्तै नक्कली आवाज जडान गरिएको छ । जसले चालकलाई इन्धनबाट चल्ने इन्जिनयुक्त गाडी चलाएको जस्तै अनुभव गराउनेछ ।

‘सुपर–वान’ नाम दिइएको यस कारको तौल १ हजार ९० किलोग्राम रहेको छ । जापानी सवारी निर्माता कम्पनीका अनुसार विद्युतीय गाडीका लागि यो तौल अत्यन्तै हलुका हो ।

यसले एक पटकको फुल चार्जमा २७४ किलोमिटरको दूरी (क्रुजिङ रेन्ज) तय गर्नेछ । कम्पनीले यसको मूल्य भने पछि सार्वजनिक गर्ने बताएको छ ।

अन्य अटो निर्माताहरूले एक पटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी गुड्ने ईभी मोडेलहरू बजारमा ल्याइरहेका बेला, होन्डाले भने गाडीको तौल घटाउन सानो ब्याट्री प्रयोग गर्ने र रेन्जलाई सीमित राख्ने निर्णय गरेको बताएको छ ।

गाडी विकासको जिम्मा पाएका हिदेतोमो होरिताले परीक्षणका क्रममा पत्रकारहरूसँग भने, ‘रेन्ज बढाउन ठूलो ब्याट्री चाहिन्छ, जसले अन्ततः लागत बढाउँछ । त्यसैले हामीले उपयोगिता र लागतबीच सन्तुलन मिलाउने लक्ष्य राखेका छौँ ।’

होन्डाले आगामी बिहीबारदेखि जापानभरका डिलरहरूबाट प्रि–अर्डर लिन सुरु गर्नेछ । साथै, यस मोडेललाई बेलायत, सिंगापुर र अष्ट्रेलिया लगायतका देशहरूमा पनि सार्वजनिक गर्ने योजना बनाइएको छ ।

यस गाडीमा पाँचवटा फरक ड्राइभिङ मोडहरू उपलब्ध छन् । जसमध्ये ‘बुस्ट’ ( विकल्पले गाडीको क्षमतालाई अधिकतम ७० किलोवाट (लगभग १०० हर्सपावर बराबर) सम्म पुर्‍याउँछ, जसले चालकलाई उच्च गतिको अनुभूति दिनेछ ।

गाडीभित्रका स्पिकरहरूलाई स्पोट्र्स कारको जस्तै भर्चुअल इन्जिनको आवाज निकाल्ने गरी राखिएको छ । साथै, मिटर बक्समा इन्जिनको गति देखाउने ट्याकोमिटरको दृश्यले चालकलाई भिजुअल रूपमा पनि इन्जिनकै गाडी चलाएको आभास गराउनेछ ।

कम्पनीका अनुसार यस गाडीको मुख्य लक्षित ग्राहक ५० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू हुन् । जसलाई अब ठूलो गाडीको आवश्यकता छैन तर ड्राइभिङको वास्तविक मजा लिन चाहन्छन् ।