
टोकियो । जापानको टोकियोस्थित अराकावा क्षेत्रमा एक नवजात शिशुको शव फेला परेको घटनामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा २३ वर्षीया नेपाली नागरिक तथा जापानी भाषा विद्यालयमा अध्ययनरत छात्रा राधा कुमारी थापा रहेकी छन्।
उनलाई आफ्नै शिशुको शव लुकाएर राखेको आरोपमा मृत शरीर परित्यागको अभियोगमा नियन्त्रणमा लिइएको हो। अनुसन्धान अनुसार, उनले ६ देखि ७ तारिखको बीचमा नवजात शिशुको शव आफ्नै बस्ने छात्रावासको कोठाको दराजभित्र लुकाएर राखेकी थिइन्।
प्रहरीको प्रारम्भिक बयानमा बच्चा जन्मिएपछि मृत्यु भएपछि के गर्ने थाहा नभएर दराजमा राखेको स्वीकार गरेकी छन्। मृत शिशु छोरी भएको र शरीरमा बाह्य चोटपटकका कुनै स्पष्ट चिन्ह नभएको जनाइएको छ।
घटनाबारे थप विवरण अनुसार शिशुको शव टावलमा बेरिएको अवस्थामा प्लास्टिकको झोलाभित्र राखिएको थियो। ७ तारिखका दिन सँगै बस्ने अर्की महिलाले रगतले लतपत अवस्थामा उनलाई देखेपछि घटनाबारे शंका उत्पन्न भएको थियो।
त्यसपछि बोलाइएको उद्धार टोलीले अवस्था बुझेर प्रहरीलाई खबर गरेको थियो।
हाल प्रहरीले शिशुको मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

