
टोकियो । जापानमा हालै भएको एक सर्वेक्षणमा १७ देखि १९ वर्ष उमेर समूहका करिब १९.२ प्रतिशत किशोरकिशोरीहरूले बढ्दो आप्रवासनलाई देशको बढ्दो समस्याका रुपमा लिएको पाइएको छ ।
निप्पोन फाउन्डेशनले हालै सार्वजनिक गरेको एक अनलाइन सर्वेक्षण अनुसार यो संख्या दुई वर्षअघिको तुलनामा झन्डै तीन गुणा बढी हो ।
फाउन्डेशनले यस वृद्धिको कुनै ठोस कारण नखुलाए पनि जापानमा बढ्दो विदेशी जनसंख्यासँग जोडिएका विभिन्न धारणाहरू र सन् २०२५ जुलाईमा भएको ‘हाउस अफ काउन्सिलर्स’ को निर्वाचनमा राजनीतिक दलहरूले अघि सारेका विदेशी सम्बन्धी नीतिहरूका कारण युवाहरूको सोचमा यो परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ ।
फेब्रुअरीमा गरिएको उक्त सर्वेक्षणमा सहभागीहरूले धेरै विकल्पहरू छान्न पाउने व्यवस्था थियो । जसमध्ये ४१.५ प्रतिशतले ‘घट्दो जन्मदर’ लाई सबैभन्दा ठूलो समस्या मानेका छन् ।
यसैगरी ३७.१ प्रतिशतले ‘वृद्धवृद्धाको बढ्दो जनसंख्या’ र २७.९ प्रतिशतले ‘आर्थिक वृद्धि’ लाई समस्याका रूपमा रोजेका छन् । सन् २०२४ को सर्वेक्षणमा ६.७ प्रतिशतले मात्र आप्रवासीको वृद्धिलाई समस्याका रुपमा चित्रित गरेकोमा यस वर्ष सो संख्या १९.२ प्रतिशत पुगेको हो ।
अध्यागमन सेवा निकायको तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या करिब ४१ लाख ३० हजार पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यद्यपि, जापानी सरकारले आफ्नो ध्यान केवल श्रम शक्तिको अभाव टार्न विदेशी कामदारहरू भित्र्याउनुमा रहेको र आप्रवासन नीतिलाई प्रोत्साहन नगरेको टिप्पणी भइरहेको छ ।
निप्पोन फाउन्डेशनले बेलायत, चीन, भारत, दक्षिण कोरिया र अमेरिकामा पनि यो सर्वेक्षण गरेको थियो । बेलायतमा सबैभन्दा बढी २१.१ प्रतिशत र अमेरिकामा १४.५ प्रतिशतले आप्रवासनलाई राष्ट्रिय समस्याको रूपमा लिएको पाइएको छ ।
एआईमाथिको विश्वास र भविष्यको लक्ष्य
सूचनाको विश्वसनीय स्रोतबारे सोधिएको प्रश्नमा जापानी किशोरकिशोरीहरूले अचम्मको प्रतिक्रिया दिएका छन् ।
सहभागीमध्ये ११.९ प्रतिशतले ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ लाई विश्वसनीय स्रोतका रूपमा रोजेका छन् । जुन शीर्ष १० भित्र पर्दछ ।
यो संख्या विश्व प्रसिद्ध विश्वविद्यालय वा अनुसन्धान संस्थाहरूलाई विश्वास गर्ने (११.८ प्रतिशत) भन्दा बढी हो । अन्य देशका युवाहरूले भने संयुक्त राष्ट्र संघ र युरोपेली संघलाई बढी विश्वासिलो स्रोत मानेका छन् ।
त्यस्तै, भविष्यको ‘ड्रिम जब’ बारे सोधिएको प्रश्नमा २२.५ प्रतिशत जापानी किशोरकिशोरीहरूले ‘केही पनि विशेष छैन’ भन्ने जवाफ दिएका छन् । यो दर अन्य देशहरूको तुलनामा निकै बढी हो ।
भारतमा १.० प्रतिशत, बेलायतमा १.७ प्रतिशत, चीनमा २.२ प्रतिशत, दक्षिण कोरियामा ३.० प्रतिशत र अमेरिकामा ३.८ प्रतिशत युवाले मात्र यस्तो जवाफ दिएका थिए ।

