
टोकियो । अमेरिका–इजरायल र इरानबीच युद्धविराम भए पनि तेल आयातको प्रमुख मार्ग होर्मुज जलडमरुस्थलको आवागमन अनिश्चित बनेपछि जापानले थप २० दिनको आन्तरिक खपत धान्ने गरी आफ्नो तेल भण्डार खुला गर्ने तयारी गरेको छ ।
इरानलाई होर्मुज स्ट्रेट खोल्न दिएको समयसीमा सकिनुभन्दा केही घन्टाअघि युद्धविराम भएको थियो । तर १५ दिने अस्थायी युद्धविराम सुरु भएपनि यो मार्ग अझै सूचारु हुन सकेको छैन ।
इजरायलले लेबनानमा इरान निकट हिजबुल्लाहलाई लक्षित गरी आक्रमण जारी राखेको छ । जसका कारण इरानले यो युद्ध नरोके युद्धविराम पालना नहुनसक्ने चेतावनी दिइरहेको छ ।
त्यसैले यो जलमार्ग पुनः खुल्ने वा युद्धअघिकै अवस्थामा सञ्चालन हुनेमा अझै अनिश्चितता छ । जलमार्गको प्रभावकारी बन्द अवस्था जारी रहन सक्ने चिन्ताबीच जापानको उद्योग मन्त्रालयले थप तेल भण्डार खुला गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।
गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि उर्जा ढुवानीको मुख्य जलमार्ग ठप्प भएपछि तेलको आपूर्ति स्थिर राख्न सरकारले मार्चको मध्यदेखि तेल भण्डारको अहिलेसम्मकै ठूलो हिस्सा बजारमा पठाउन सुरु गरेको थियो ।
सरकारले राज्य, निजी क्षेत्र र तेल उत्पादक खाडी मुलुकहरूसँग रहेको भण्डारबाट कुल ८ करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने लक्ष्य राखेको छ । जुन करिब ५० दिनको खपत बराबर हो । यसमध्ये ३० दिनको खपत धान्ने सरकारी भण्डारको तेल अप्रिलको अन्त्यसम्ममा देशभरका ११ वटा आधारहरूबाट वितरण गरिनेछ ।
प्राकृतिक स्रोतसाधनमा कमजोर जापान आफ्नो कच्चा तेलको झन्डै सबै आवश्यकताका लागि आयातमा निर्भर छ । जसको ९० प्रतिशतभन्दा बढी हिस्सा यही मार्ग हुँदै आउने गर्छ ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत महिना टोकियोमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलसँगको भेटमा ३२ सदस्यीय आईईएद्वारा संयुक्त रूपमा हुनसक्ने अतिरिक्त तेल भण्डार फुकुवा कार्यमा आफ्नो समर्थन व्यक्त गरेकी थिइन् ।
सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण गरेपछि पहिलोपटक आईईएका सदस्य राष्ट्रहरूले पनि मार्चको मध्यदेखि ४० करोड ब्यारेल भन्दा बढी तेल भण्डार फुकुवा गर्न सुरु गरेका छन् ।

