टोकियो — जापानमा आज (२०२६ अप्रिल १) देखि साइकल चालकका लागि पनि BLUE TICKET ‘नीलो पर्चा’ प्रणाली लागू गरिएको छ। जापानको राष्ट्रिय प्रहरी निकायले ट्राफिक नियम उल्लङ्घन नियन्त्रणलाई कडाइ गर्न यो व्यवस्था सुरु गरेको हो।
नयाँ नियमअनुसार १६ वर्षभन्दा माथि र ७० वर्षमुनिका व्यक्तिले साइकल चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेमा सिधै जरिवाना तिर्नुपर्नेछ। यसअघि यस्ता उल्लङ्घनमा धेरैजसो चेतावनीमै सीमित रहने गरिएको थियो।
प्रहरीका अनुसार, विशेष गरी मोबाइल चलाउँदै साइकल चलाउने कार्यलाई गम्भीर उल्लङ्घन मानिएको छ, जसमा करिब १२ हजार येन जरिवाना तोकिएको छ। त्यस्तै ट्राफिक बत्ती उल्लङ्घन गर्ने, उल्टो दिशामा चलाउने वा पैदलमार्गमा गलत तरिकाले साइकल चलाउने कार्यमा ६ हजार येन जरिवाना लाग्नेछ।

त्यसैगरी, रोक्नुपर्ने स्थानमा नरोक्ने जस्ता उल्लङ्घनमा करिब ५ हजार येन जरिवाना तोकिएको छ।
प्रहरीले साइकललाई अब मोटरसाइकल वा गाडीसरह सवारी साधनकै रूपमा कडाइका साथ नियमन गरिने जनाएको छ। करिब ११३ प्रकारका उल्लङ्घनमा कारबाही हुने व्यवस्था लागू गरिएको छ।
हालका वर्षहरूमा साइकलसँग सम्बन्धित दुर्घटना बढ्दै गएकाले नियम कार्यान्वयनलाई कडा बनाइएको अधिकारीहरूको भनाइ छ।

प्रहरीले नागरिकलाई साइकल चलाउँदा मोबाइल प्रयोग नगर्न, ट्राफिक बत्तीको पालना गर्न र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।


