नागोयामा राहदानी र कन्सुलर सेवाका लागि बृहत् घुम्ती शिविर आयोजना

|

नेपाली राजदूतावास टोकियोले जापानको नागोयामा यही अप्रिल ४ देखि ७ तारिखसम्म ४ दिने बृहत् घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

राजदूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा जापानको ठूलो शहर नागोयामा शिविर सञ्चालन गर्न लागेको हो ।

उक्त घुम्ती शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि लाइभ इन्क्रोलमेन्ट कार्य, बच्चाको राहदानी नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिने दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी नवीकरण/नयाँ जारीका लागि १६ सय स्लट खुलाइएकोमा सबै स्लट बुक भइसकेको र आवश्यकता अनुसार थप स्लट आज बेलुका ५ बजे खुलाइने दूतावासले जानकारी दिएको छ । यस कार्यका लागि राहदानी विभाग काठमाडौंबाट समेत २ जना कर्मचारीहरु जापान आउने तयर भएको छ ।

साथै यो घुम्ती शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानीहरु तथा अन्य कागजातहरु सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने समेत दूतावासले जनाएको छ ।

दूतावासले नेपाल सरकार/नेपाली राजदूतावासबाट निर्धारित राजश्व बाहेक कहिँ कतै कुनै पनि रकम नबुझाउन र नलिन तथा सो राजश्व पनि सम्बन्धित स्थानमा मात्रै बुझाउन समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।