
टोकियो । जापानले विदेशी नागरिकहरूलाई जापानको नागरिकता प्राप्त गर्नका लागि बसोबास अवधिको आवश्यकता दोब्बर बनाउने भएको छ ।
विदेशी नागरिकहरुलाई नागरिकता प्रदान गर्न यसअघि रहेको स्थायी बसोबासको अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष बनाउने भएको हो । योसँगै १ अप्रिलदेखि कर तथा सामाजिक बीमा रेकर्डहरूको स्क्रिनिङ अवधि विस्तार गर्ने भएको छ ।
यसले नागरिकता प्राप्तिको मापदण्डलाई स्थायी बसोबास (परमानेन्ट रेसिडेन्सी) का लागि आवश्यक स्तरमा पुर्याउने छ । संशोधित दिशानिर्देशहरू अनुसार नागरिकता आवेदकहरूले दुई वर्षको कर र सामाजिक बीमा भुक्तानी रेकर्डहरू तथा पाँच वर्षको कर भुक्तानी प्रमाणपत्रहरू पेश गर्नुपर्ने छ ।
जापानी नागरिकता प्राप्त गर्नु स्थायी बसोबास प्राप्त गर्नुभन्दा सजिलो भएको भन्दै आलोचना भइरहेका बेला त्यसको सम्बोधनका लागि नयाँ नियम ल्याइएको जापानी न्याय मन्त्रालयले जनाएको छ ।
हाल जापानमा नागरिकताको आवेदन दिनका लागि जापानमा कम्तीमा पाँच वर्ष निरन्तर बसोबास गरेको हुनुपर्ने व्यवस्था छ । जबकि स्थायी बसोबासका लागि १० वर्ष आवश्यक छ ।
स्क्रिनिङ मापदण्डहरू पनि लचिला थिए । बीमा भुक्तानी जाँचहरूले नागरिकता आवेदकहरूका लागि एक वर्षको रेकर्ड आवश्यक पर्दथ्यो भने स्थायी बसोबासका लागि दुई वर्षको रेकर्ड बुझाउनु पर्दथ्यो ।
कर प्रमाणपत्र आवश्यकताहरू हरेक केसमा फरक हुन्थ्यो । कम्पनीका कार्यकारीहरूले सामान्यतया तीन वर्षको रेकर्ड पेस गर्नुपर्दथ्यो । जुन स्थायी बसोबासका लागि आवश्यक पाँच वर्ष भन्दा कम हो ।
सांसदहरू र भिसा विशेषज्ञहरूका अनुसार यो अन्तरले केही विदेशी बसोबासकर्तालाई स्थायी बसोबासको सट्टा नागरिकता खोज्न प्रोत्साहन दिएको थियो ।
गत वर्ष संसदमा मतदानको अधिकार हुने जापानी नागरिकता प्राप्तिको व्यवस्था स्थायी बसोबासको व्यवस्थाभन्दा सजिलो हुन नहुने भन्दै चिन्ता व्यक्त भएको थियो ।
प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनले पनि जनवरीमा जारी गरिएको आप्रवासन नीति प्याकेजमा यो मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको थियो ।
अप्रिल १ अघि नै नागरिकताका लागि आवेदन दिएका आवेदकहरूका हकमा भने हालको व्यवस्था अर्थात् कम्तीमा पाँच वर्षको बसोबासको व्यवस्था नै लागू हुनेछ । । यी संशोधनहरू कानुनी प्रावधानमा भन्दा न्याय मन्त्रालयका दिशानिर्देशहरूमा लागू हुन्छन् ।
जापानको राष्ट्रियता कानुन अनुसार न्यूनतम बसोबास आवश्यकता औपचारिक रूपमा पाँच वर्ष नै रहन्छ र यसलाई संशोधन गर्न संसदीय कानुन आवश्यक पर्नेछ ।
धेरैजसो सफल आवेदकहरूले सामान्यतया जापानमा करिब १० वर्ष वा त्यसभन्दा बढी समय बिताएका हुन्छन् । त्यसैले यो संशोधनले नागरिकताको व्यावहारिक कडाइलाई उल्लेखनीय रूपमा परिवर्तन गर्ने सम्भावना छैन ।
२०२५ मा ९ हजार २ सय भन्दा बढी विदेशी नागरिकले जापानको नागरिकता प्राप्त गरेका थिए । जसमध्ये धेरैजसो चिनियाँ (३८ प्रतिशत) र दक्षिण कोरियाली (२२ प्रतिशत) थिए । यसरी नागरिकता पाउन करिब १४ हजार आवेदकहरूबाट उनीहरुले नागरिकता पाएको न्याय मन्त्रालयको नागरिक मामिला ब्युरोले जनाएको छ ।

