जापानमा नेपालीको संख्या ३ लाख पुग्यो, विदेशीको संख्या बढ्दो

|

टोकियो । जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ। जापानको अध्यागमन सेवा निकायका अनुसार, सन् २०२५ को मध्यसम्म अर्थात् जुन महिनाको अन्त्यसम्म जापानमा बस्ने विदेशीहरूको संख्या ३९ लाख ५६ हजार ६ सय १९ पुगेको छ।

यो अघिल्लो वर्षको अन्त्यको तुलनामा करिब १८ लाख ७६ हजार ४२ जनाले अर्थात् ५ प्रतिशतले वृद्धि हो। यसले जापानमा विदेशी जनसंख्या निरन्तर बढ्दो क्रममा रहेको पुष्टि गर्दछ। विशेषगरी कोभिड–१९ पछि प्रवेश प्रतिबन्ध हटेपछि विदेशीहरूको आगमन तीव्र रूपमा बढेको देखिन्छ।

तथ्यांकअनुसार, कुल विदेशीमध्ये दीर्घकालीन बसोबास गर्नेहरूको संख्या ३६ लाखभन्दा बढी रहेको छ भने विशेष स्थायी बासिन्दाहरू करिब २७ लाख छन्। लैंगिक आधारमा हेर्दा पुरुषको संख्या करिब ५१ प्रतिशत र महिलाको संख्या करिब ४९ प्रतिशत रहेको छ, जसले तुलनात्मक रूपमा सन्तुलित संरचना देखाउँछ।

विश्लेषण गर्दा, जापानमा विदेशी जनसंख्या बढ्नुका मुख्य कारणहरूमा श्रमशक्ति अभाव, वृद्ध जनसंख्या वृद्धि तथा “टोकुटेई गिनो” जस्ता नयाँ भिसा प्रणालीहरूको विस्तार प्रमुख मानिन्छ।

पछिल्लो एक दशकको तथ्यांक हेर्दा, सन् २०१२ मा करिब २० लाख रहेको विदेशी जनसंख्या अहिले झण्डै दोब्बर भइसकेको छ, जसले जापानको सामाजिक संरचना तीव्र रूपमा परिवर्तन भइरहेको संकेत गर्छ।