
काठमाडौं । अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ ।
जस अनुसार अब नेपाली मूलका विदेशी नागरिकका लागि अलग आगमन र प्रस्थान कक्ष स्थापना गरिनेछ । विभागले नेपाली मूलका विदेशी नागरिकका लागि अलग डेस्क छिट्टै स्थापना हुने जानकारी दिएको छ ।
नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा, संस्कृति र नेपालको माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन अलग डेस्क स्थापना गर्ने निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।
‘नेपालमा पर्यटन र लगानी प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेपाली मूलका विदेशी नागरिकहरूका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्था गर्नू,’ निर्णयमा भनिएको छ ।
नेपाली मूलका नागरिकहरूको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजन (एनएनओ) नेपाली मूलका विदेशी नागरिकलगायतले अध्यागमनमा गैरआवासीय नेपाली संघ ( एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क स्थापना गर्न गृह मन्त्रालयलाई आग्रह गरेका थिए ।
एएनओका अधिकारीहरूले केही दिनअघि मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी नेपाली मूलका विदेशी नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क स्थापना गर्न आग्रह गरेका थिए । सोही बमोजिम गृहमन्त्रीले निर्देशन दिएपछि अध्यागमन विभागले अलग डेस्क राख्ने निर्णय गरेको हो ।

