जापानी जहाजलाई इरानले हर्मुजबाट आवतजावत गर्न दिने

|

अमेरिकी–इजरायली हमलापछि स्ट्रेट अफ हर्मुज हुँदै चल्ने तेल ट्यांकरहरुलाई रोकेको इरान जापानसँग सम्बन्धित ट्यांकरहरुलाई भने आवतजावत गर्न दिन सकारात्मक भएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले होर्मुज जलसन्धिबाट जापानसँग सम्बन्धित जहाजहरूलाई आवतजावत गर्न दिने तयार रहेको बताएका छन् ।

विश्वको तेल आपूर्तिको २० प्रतिशत यो मार्ग हुँदै निर्यात हुने गर्छ । त्यसैले यहाँबाट तेल आपूर्ति ठप्प हुँदा विश्वव्यापी तेल संकट गहिरिँदै गएका बेला जापानले तेल आपूर्ति सहज बनाउन छलफल अघि बढाएको छ ।

अमेरिका र इजरायलले इरानमाथि हमला सुरु गरेपछि इरानले यो मार्ग बन्द गराएको छ । जसका कारण जापानको तेल आयात समेत प्रभावित बनेको छ । जापानले आवश्यक तेलको करिब ९० प्रतिशत यही मार्ग हुँदै आयात गर्दै आएको छ । त्यसैले जापानका लागि यो मार्ग अत्यावश्यक मानिन्छ ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सानाए ताकाइचीलाई यो मार्ग खोल्न सैन्य सहयोगको आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ताकाइचीले जापानको संविधान र कानुनी व्यवस्थाबारे जानकारी दिँदै संविधानले दिएको अधिकारक्षेत्र भित्रबाट सहयोग गर्नसक्ने बताएकी थिइन् ।

युद्धका कारण तेल आपूर्ति शृङ्खला अवरुद्ध बनेपछि जापानले आपतकालीन भण्डारणबाट तेल निकाल्न सुरु गरेको छ । तर यो तेलले करिब ४० दिन धान्न सक्ने भएपनि त्यसपछिका लागि विकल्प तत्कालै खोज्नुपर्ने अवस्था छ ।