
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले स्ट्रेट अफ हर्मुज बन्द खुलाउ युद्धपोत पठाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रह अस्वीकार गरेकी छन् ।
गत साता ट्रम्पले सहयोगी देशलाई युद्धपोत पठाउन आग्रह गरेका थिए । उनले हर्मुजको अवरोध खुलाउन नेटो देशसँगै अस्ट्रेलिया, दक्षिण कोरिया र जापानजस्ता सहयोगी देशसँग समुद्री सुरक्षा सहयोग मागेका थिए ।
ह्वाइट हाउसमा बिहीबार भएको बैठकका क्रममा ट्रम्पले ताकाइची सामू यो मुद्दा समेत राखेका थिए । जापानी समाचार एजेन्सी क्योदोका अनुसार ताकाइचीले कानुनी सीमाको हवला दिँदै विस्तारमा जापानले गर्न सक्ने र नसक्ने कामबारे जानकारी दिएकी थिइन् ।
जापानको मेरिटाइम सेल्फ–डिफेन्स फोर्स संसारको सबैभन्दा ठूलो नौसेनामध्ये एक हो । तर उसको काम गर्ने सीमा देशको शान्तिवादी संविधानबाट मात्रै निर्देशित हुन्छ ।
रिपोर्टअनुसार ताकाइचीले अन्य तरिकाले सहयोग गर्ने संकेत भने दिएकी छन् । ट्रम्पले भने जापानले आफ्नो जिम्मेवारी निभाइरहेको तर अन्य देशले त्यस्तो नगरेको भन्दै आक्रोश पोखेका छन् । ट्रम्पले जापानले आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

