डिजिटल युगमा पत्रकारिता बढी जिम्मेवार हुनुपर्छ : शर्मा

|

टोकियो । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल युगमा जिम्मेवार पत्रकारिता आवश्यक भएको बताएकी छन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाको १५औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोधमा भचुअल्ली शुभकामना दिँदै उनले डिजिटल युगमा सही सूचनामार्फत मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र डिपफेकलाई परास्त गर्नुपर्नेमा जोड दिइन् ।

उनले नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरु स्थापना गर्ने क्रममा जापान शाखा स्थापना भएको १५औं स्थापना दिवसको शुभकामना समेत व्यक्त गरिन् ।

उनले महासंघ जापान शाखाले प्रवास पत्रकारिता पुरस्कार स्थापना गरेर विदेशमा बसी पत्रकारिता गर्नेलाई झनै उत्साहित बनाएको उल्लेख गरिन् । उनले जापान शाखाले सुरु गरेको वेबसाइट त्यहाँ रहेका पत्रकारहरुका लागि आफ्ना विषयवस्तु प्रस्तुत गर्ने साझा प्लेटफर्म भएको समेत बताइन् ।

अध्यक्ष शर्माले प्रवास पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारलाई बधाई समेत दिएकी छन् । महासंघले स्थापना दिवसका अवसरमा यसवर्षको प्रवास पत्रकारिता पुरस्कार महासंघका संस्थापक अध्यक्ष तथा जापानमा लामो समयदेखि पत्रकारितामा क्रियाशील तिलक मल्ललाई प्रदान गरेको छ ।