
एनपीओ गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयमा ‘छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम’ सम्पन्न भएको छ।
‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने उद्देश्यका साथ गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सांगीतिक शृङ्खला २०२५-०२६ को उद्देश्य अनुसार गलकोट नगरपालिका र तारा गाउपालिकाका १९ विद्यालयहरुमा ५/५ लाखको अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम गरेको हो।
पहिलो चरणमा गत वर्ष गल्कोट नगरपालिकाका वडा नं–१ को सरस्वती माध्यमिक विद्यालय,वडा नं–२ को महेन्द्र माध्यमिक विद्यालय, वडा नं–४ को खरुवा माध्यमिक विद्यालय, वडा नं–५ को पृथ्वी माध्यमिक विद्यालय, वडा नं–६ पार्वती माध्यमिक विद्यालय, वडा नं– ७ को जनहित माध्यमिक विद्यालय, वडा नं– ८ को जनजागृति माध्यमिक विद्यालय,वडा नं–९ को भैरव माध्यमिक विद्यालय, वडा नं–१० पाण्डवखानी माध्यमिक विद्यालय र वडा नं.– ११ रत्नलक्ष्मी माध्यमिक विद्यालय तथा तारा गाउँपालिकामा नेपाल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो।

दोस्रो चरण अन्तरगत गत वर्ष बाँकी रहेका गल्कोट नगरपालिका वडा नं-१ को चौराहा माध्यमिक विद्यालय, वडा नं–३ गल्कोट माध्यमिक विद्यालय र वडा नं–८ शिव माध्यमिक विद्यालय र त्यसैगरी तारा गाउँपालिका अन्तर्गत वडा नं–१ प्रजातन्त्र माध्यमिक विद्यालय, जनप्रेम माध्यमिक विद्यालय, वडा नं–२ अर्गल माध्यमिक विद्यालय, वडा नं–३ हरि माध्यमिक विद्यालय र वडा नं – ५ दुर्गा भवानी माध्यमिक विद्यालयमा ५/५ लाखको अक्षय कोष स्थापना कार्य सम्पन्न गरेको छ।
यो अक्षयकोषले भविष्यमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गल्कोट समाज जापानले लिएको छ।
यस महत्वपूर्ण कार्यलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाता एवं कार्यक्रमको व्यवस्थापनमा सहजीकरण गरिदिने गल्कोट नगरपालिका, तारा गाउँपालिकाका सम्बन्धित विद्यालय परिवार, विभिन्न संघ–संस्था, समाजसेवी, पत्रकार मित्रहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण महानुभावहरूप्रति एनपीओ गल्कोट समाज जापान परिवार हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ।
अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रममा गल्कोट समाज जापानका तर्फबाट अध्यक्ष रत्नसिंह बस्नेत, महासचिव दिलिप कँडेल लगायतको उपस्थिति थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र विद्यार्थी समेतको उपस्थिति रहेको थियो।


