
हामी बसोबास गर्दै आएका क्षेत्र बसोबासका दृष्टिले कति उपयुक्त छन् ? अनि बसोबासका लागि उत्कृष्ट भनिएका स्थान कस्ता होलान् ?
हामीले आफू बसोबास गरिरहेका क्षेत्रमा कुनै न कुनै कमीहरु देख्ने भएकाले आफू बसेको स्थान यस्तो होस् भन्ने धेरैको चाहाना हुन्छ ।
ग्लोबल लिभेबिलिटी इन्डेक्स भनिने बसोबासको हिसाबले उत्कृष्ट सहरहरूको सूचीको पहिलो नम्बरमा लामो समयदेखि अस्ट्रियाको राजधानी भिएना थियो ।
तर २०२५ मा यो सूचीमा केही फेरबदल भएको छ । डेनमार्कको कोपन्हेगनदेखि जापानको ओशाका हुँदै अस्ट्रलियाका सिड्नी, मेल्बर्न र एडिलेइडसम्मका शहरहरु बसोबासका लागि उत्कृष्ट शहरमा परेका छन् ।
द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू)ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ । त्यसका लागि सबैभन्दा आरामदायी र सुरक्षित सहरहरू निर्धारण गर्न विभिन्न तथ्यांकहरूलाई आधार मान्ने गरिन्छ ।
जन सूचीमा पछिल्लो १३ वर्षदेखि अस्ट्रियाको भियना पहिलो नम्बरमा थियो । स्थायित्व, शिक्षा र भौतिक पूर्वाधारहरूका आधारमा यसपटक डेनमार्कको राजधानी कोपन्हेगन शीर्षस्थानमा छ ।
सन् २०२५ को सूचीमा देखिएको फेरबदल सहरहरूलाई प्राप्त अंकमा मात्र नभई त्यसमा सुरक्षा र विश्वव्यापी रूपमा बढ्दो भूराजनीतिक तनावहरूलाई समेत मध्यनजर गरेर सूची बनाइएको हो ।
सन् २०२४ मा भियनामाथि बम हमला हुन सक्ने चेतावनी जारी भएको थियो भने चर्चित गायिका टेलर स्विफ्टको सांगीतिक कार्यक्रम नै रद्द गर्नुपरेको थियो । बसोबासका दृष्टिले जापानको ओशाका शीर्ष १० भित्र पर्ने एउटामात्रै एसियाली शहर हो । ओसाका यसवर्ष सूचीको सातौं स्थानमा छ ।

स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रमा यो शहरले शतप्रतिशत अंक प्राप्त गरेको छ ।
त्यहाँका बासिन्दाका अनुसार ओसाका एकदमै राम्ररी विकसित र आधुनिक शहर हो । अमेरिकामा सन फ्रान्सिस्को सहरको जस्तै सम्मान जापानको ओशाकाले पाउने पर्छ । केही सानो भए पनि यो आफ्नै विशिष्ट पहिचान भएको शहर हो ।
भरपर्दा भौतिक पूर्वाधार र सफासुग्घर, ठिक समयमा चल्ने र विस्तारित क्षेत्रमा पुग्ने सार्वजनिक यातायात प्रणालीले ओशाका बसोबासका लागि एकदमै सजिलो र अत्यधिक भिडभाडभन्दा फरक स्थान बनेको छ ।







