आईएईएको टोलीले अर्को साता फुकुशिमाको समुद्रबाट नमुना लिने

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले चीनसहित केही देशका विशेषज्ञको समूहले आगामी साता जापान गएर फुकुशिमा दाईची परमाणु ऊर्जा संयन्त्रको आसपासको समुद्री पानी र माछाको नमुना संकलन गर्ने जनाएको छ ।

यो ऊर्जा संयन्त्रका सञ्चालकले गत साता समुद्री जलमिश्रित प्रशोधित पानीको दोस्रो चरण समुद्रमा पठाउन सुरु गरेको थियो ।

आईएईएले १६ देखि २३ अक्टोबरसम्म एक टोलीले जापान भ्रमण गरेर नमुना संकलन गर्ने जानकारी दिएको हो । यो समूहमा क्यानडा, चीन र दक्षिण कोरियाका विशेषज्ञ पनि सामेल रहनेछन् ।

यी नमुनाको तुलना गत वर्षका नमुनासँग गरिनेछ, ताकि विशेष रुपमा रेडियोधर्मी पदार्थको स्तरमा बदलाबको जाँच गर्न सकियोस् । ऊर्जा संयन्त्रको पानी गत अगस्टदेखि समुद्रमा मिसाउन सुरु गरिएको हो ।

सन् २०११ को भूकम्प र सुनामीपछि फुकुशिमा दाईची परमाणु विद्युत संयन्त्रका तीन रिएक्टर पग्लिएका थिए । जसलाई चिस्याउन प्रयोग गरिएको पानी, वर्षा र जमिनको पानीमा मिसिएको थियो ।

ऊर्जा घरमा जम्मा भएको पानीमध्ये अधिकांश रेडियोधर्मी पदार्थ हटाउनका लागि प्रशोधन गरिएको छ । तर अझै ट्रिटियमको मात्रा केही मात्रामा रहेको छ ।

प्रशोधित पानी प्रशान्त महासागरमा मिसाउनुअघि ऊर्जा संयन्त्रको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनीले ट्रिटियमको स्तरलाई विश्व स्वास्थ्य संगठनको पेयजल सम्बन्धी दिशानिर्देश अनुसार घटाएर समुद्रमा मिसाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?