इजरायलमा कम्तीमा १० नेपालीको मृत्यु भएको पुष्टि

प्यालेस्टिनी विद्रोही संगठन हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । सो घटनामा परी तीन जना घाइते भएका छन् ।

शनिबार हमासले इजरायलमा विशाल आक्रमण गरेको थियो । हमासको आक्रमण र इजरायलले सुरु गरेको जवाफी हमलामा परी मृत्यु हुनेको संख्या ६ सय नाघेको छ भने सयौं घाइते भएका छन् ।

आक्रमणमा परी १० नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन् ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यसैगरी पाँचनली डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित रहेको बताइएको छ ।

राजदूत रिजालले मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेको र घाइते र बंकरमा सुरक्षित रहेकाहरुको पनि उद्धारको प्रयास भइरहेको बताएकी छन् ।

इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । यसैगरी २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक犀利士 ्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

इजरायल पुगेकामध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणपछि सम्पर्कमा नरहेकाले हताहत भएको हुनसक्ने परराष्ट्रमन्त्री एनपी साउदले संसदमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?