उत्तर कोरियाले जापानी नागरिक अपहरण स्वीकार गरेको २१ वर्ष पुग्यो

जापानसँग २१ वर्षअघि भएको ऐतिहासिक शिखर बैठकमा उत्तर कोरियाले पहिलो पटक जापानी नागरिक अपहरण गरेको स्वीकार गरेको थियो ।

अपहृत जापानीको स्वदेश फिर्तीको प्रयासमा अपर्याप्तता प्रगतिका कारण उनीहरुका परिवारजनले संयमता गुमाउँदै गएका छन् ।
१७ सेप्टेम्बर, २००२ मा जापानका तत्कालीन प्रधानमन्त्री कोइजुमी जुनिचिरो र उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोंग इलबीच प्योङयाङमा वार्ता भएको थियो । यो जापान र उत्तर कोरियाबीचको पहिलो शिखर बैठक थियो ।

शिखर बैठकमा उत्तर कोरियाले जापानी नागरिक अपहरण गरेको स्वीकार गरेको थियो । त्यसपछि अपहृत १७ मध्ये ५ जापानी नागरिक स्वदेश फर्किएका थिए ।

जापान सरकारले उत्तर कोरियाली जासुसहरुले सन् १९७०–८० को दशकमा १७ जापानी नागरिकको अपहरण गरेको जनाएको छ ।

यस्तै अन्य केही जापानीलाई पनि अपहरण गरी उत्तर कोरिया लगेको आशंका गरिएको छ । तर आधिकारिक रुपमा उनीहरुलाई अपहृत मानिएको छैन ।

पछिल्लो १७ वर्षमा आधिकारिक रुपमा अपहृत मानिएकाहरुका ८ जना बाबुआमाको मृत्यु भइसकेको छ । अब केबल अपहृत भनिएकी योकोता मेगुमीकी ८७ वर्षीया आमा र आरिमातो केइकेका ८७ वर्षीय बाबुमात्रै जीवित रहेका छन् ।

मेगुमीका भाइ योकोता ताकुयाले परिवारजनका बढ्दो उमेरका कारण पनि उनीहरुसँग बाबुआमाको पुनर्मिलनको चाहाना तीव्र रहेको बताए । प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियासँग शिखर बैठक गराउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?