
जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी ३ सेप्टेम्बरमा टोकियोमा हुने भएको छ ।
टोकियोको शिनओकुबोस्थित जापान ग्लास इन्डष्ट्रिको सेन्टर हलमा हुने मोना जापानको आठौं महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
यस्तै महाधिवेशनले विधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने मोना जापानले जनाएको छ ।
मोना जापानको कार्यसमितिको बैठकले महाधिवेशनका लागि विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गर्दै तयारीलाई तीव्र पारेको छ ।
जापानमा रहेका म्याग्देलीहरुलाई मोना जापानको महाधिवेशनमा सहभागी हुन अपिल गर्दै मोनामा आबद्ध भई म्याग्देली एकता र जिल्लाबासीहरुको भावनात्मक एकतामा ऐक्यबद्धता जनाइदिन आग्रह गरेको छ ।
महाधिवेशनका अवसरमा जापानमा रहेका कलाकर्मीहरुका विभिन्न मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतीहरु पनि रहनेछन् ।
