कीर्तिमानी स्तरमा पुग्यो जापानमा जागिर छाड्ने शिक्षकको संख्या

जापानमा जागिर छाड्ने शिक्षकको संख्या कीर्तिमानी स्तरमा पुगेको छ । मानसिक स्वास्थ्यका कारण जनाउँदै जापानका सार्वजनिक विद्यालयका शिक्षकहरुले धमाधम जागिर छाड्न थालेका हुन् ।

सन् २०२१ मा मात्रै जापानमा ९५३ शिक्षकहरुले मानसिक स्वास्थ्यको कारण देखाउँदै जागिर छाडेका छन् । यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणको तुलनामा १७१ ले बढी हो ।

सरकारी प्राथमिक विद्यालय, जुनियर हाइस्कुल र सिनियर हाइस्कुलमा पढाउने शिक्षकहरुले लामो समय काम गर्नुपरेकाले पनि जागिर छाड्ने क्रम बढेको शिक्षा मन्त्रालयको सर्वेक्षणमा देखिएको छ ।

<樂威壯 p>अधिकारीहरुले शिक्षकहरुको मानसिक स्वास्थ्यलाई तत्काल मुद्दाका रुपमा सम्बोधन गर्नु आवश्यक रहेको पनि जनाएका छन् ।

शिक्षा, संस्कृति, खेलकुद तथा प्रविधि मन्त्रालयले गरेको सर्वेक्षणमा २०२२ को मार्चमा सकिएको शैक्षिक वर्षमा अवकाश बाहेक अन्य कारणले जागिर छाड्ने कुल १२ हजार ६५२ शिक्षकमध्ये ८ प्रतिशतले मानसिक रोगका कारण राजीनामा दिएको पाइएको छ ।

सर्वेक्षणले प्रारम्भिक विद्यालयका ५७१ शिक्षकले राजीनामा दिएका छन् । जुन अघिल्लो सर्वेक्षणको तुलनामा ११४ ले बढी हो ।

यस्तै जुनियर हाइस्कुलका यसअघिको तुलनामा ३५ जनाले बढेर २७७ जना र उच्च माध्यमिक विद्यालयमा २२ जनाले बढेर १०५ जना शिक्षकले राजीनामा दिएका छन् ।

गत वर्षको अन्त्यमा जारी गरिएको सर्वेक्षणको नतिजाअनुसार मनोवैज्ञानिक समस्याका कारण अनुपस्थितिको बिदा लिने सार्वजनिक विद्यालयका शिक्षकको संख्या ५ हजार ८९७ रहेको छ ।

शिक्षकहरुले कामको बोझ र लगातार लामो समय काम गर्नुपर्ने भएका कारण पनि शिक्षक बन्न चाहनेको संख्यामा कमी आएको छ ।
जसका कारण बिदा लिएका शिक्षकको स्थानमा पदपूर्ति गर्न समेत समस्या देखिएको छ ।

शिक्षकको अभाव पूरा गर्न मन्त्रालयले शिक्षकको काम गर्ने अवस्थामा सुधार गर्ने तथा सहायक कर्मचारीहरु बढी संख्यामा राख्नेबारेमा योजना बनाइरहेको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?