
बैंक अफ जापानले मौद्रिक नीति परिवर्तन नगर्ने अडान कायम राख्दा जापानी येन निरन्तर अवमूल्यनमा परेको छ । सोमबार १ डलरका लागि झण्डै १४६ येन तिर्नुपरेको छ ।
येन अवमूल्यन बढ्दै जाँदा गत वर्षको नोभेम्बरपछि पहिलो पटक बजारमा सोमबार १ डलरका लागि १४५ येन तिर्नुपरेको हो ।
गत वर्षको नोभेम्बरदेखि नौ महिनामा येन यो वर्षको सबैभन्दा न्युन स्तरमा झरेको हो । यसैगरी युरोसँग पनि अवमूल्यन हुँदै १ युरो बराबर १५८.५६ येन पुगेको छ ।
अमेरिकी अर्थतन्त्र बलियो छ भन्ने धाराणा फैलाएका कारण अमेरिकामा दीर्घकालीन ब्याजदर बढेको छ । जसका कारण येनको अवमूल्यन भइरहेको हो ।
जापान सरकारले यसबारेमा ध्यान दिइरहेको बताए पनि येनमा सुधार ल्याउन ठोस कदम नचालेको बैंक अफ जापानले तत्काल कुनै कदम चालेर येनमा सुधार ल्याउने आधार देखिएको छैन ।
बैंक अफ जापानले गत महिनाको २८ तारिखमा दीर्घकालीन ब्याजदरमा थप वृद्धि गर्न दिने निर्णय गरेलगत्तै येन डलरको तुलनामा १३८ मा झरेपनि २४ घन्टापछि नै बढेको थियो ।
दुई सातामा डलरको तुलनामा येन ७ येनभन्दा बढीले अवमूल्यन भएको छ । अमेरिकामा दीर्घकालीन ब्याजदरहरु लगातार बढिरहेको छ । यो क्रम लामो समय चल्ने र मौद्रिक कडाई जारी रहने अनुमान गरिएको छ ।
गत वर्ष सरकार र बैंक अफ जापानले पहिलोपटब बजारमा हस्तक्षेप पर्दै डलर बिक्री गरी येन खरिद गरेको थियो । जसका कारण येनमा केही सुधार देखिएको थियो । तर त्यसयता ठोस कदम नचाल्न येनमा अवमूल्यन रोकिएको छैन ।
३० जुलमा झण्डै ७ महिनामा पहिलो पटक डलरको तुलनामा येन १४५ मा पुगेपछि जापानका अर्थमन्त्रीले अत्यधिक उतारचढाबलाई उचित जवाफ दिने प्रतिक्रिया दिएका थिए । अर्थमन्त्रीको सो भनाईपछि फेरि येनको अवमूल्यन केही रोकिएको थियो ।
डलरसँग येनको अवमूल्यन बढ्दै जादा जापानबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीहरु पनि नराम्ररी प्रभावित बनेका छन् ।
डेढ वर्षअघिसम्म ९० हजार येनको एक लाख नेपाली रुपैयाँ हुँदै आएकामा गत वर्षको अन्त्यमा १ लाख नेपाली रुपैयाँका लागि १ लाख १३ हजार येनसम्म पुगेको थियो ।
