नविन निउरे नेतृत्वको एनआरएनए जापानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहणसहित पदभार ग्रहण गरेको छ ।

एनआरएनए जापानको २०२३–२५ कार्यकालका लागि जुलाई २९ मा भएको निर्वाचनमा नविन निउरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

अध्यक्ष निउरे नेतृत्वको कार्यसमितिले शनिबार आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेको हो । शपथ ग्रहणसँगै नयाँ कार्यसमितिले औपचारिक रुपमा कार्यकाल सुरु गरेको हो । योसँगै शिवप्रसाद पौडेल नेतृत्वको पुरानो कार्यसमितिको बिदाई भएको छ ।

शपथ ग्रहण कार्यक्रममा एनआरएनए जापानको कार्यसमितिसँगै जापानबाट आईसीसी सदस्यमा निर्वाचित ५ जना सदस्यहरुलाई पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष निउरेले आफूले गरेका हरेक बाचालाई दुई वर्षभित्र पूरा गर्न कोशिस गर्ने प्रतिबद्धता जनाएका छन् । उनले एनआरएनए जापानलाई एक ढिक्का बनाएर अघि बढाउन सबैसँग सहकार्य गर्ने पनि जनाएका छन् ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसीका उपाध्यक्ष आर.के.शर्मासहित एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो । कार्यक्रममा जापानका कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?